न्यूनतम पारिश्रमिक कार्यान्वयन भएरै छाड्छु मन्त्री बाँस्कोटा

306

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले पत्रकारका लागि प्रदान गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएरै छाड्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं साधारणसभाको उद्घाटन गर्दैै उहाँले सरकारले साना देखि ठूला सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको साथै सञ्चार माध्यममा काम गर्ने कर्मचारीहरुको समेत न्यूनतम पारिश्रमिक कायम भएरै छाड्ने बताउनु भयो ।
मन्त्री बाँस्कोटाले पत्रकारले नेपालको विकासको पाटोलाई अगाडि बढाउन राजनीतिक कार्यकर्ता नभई पत्रकार भएर काम गर्नु पर्नेमा जोड दिनु भयो ।
कुनै पनि पेशामा आवद्धहरुले आफ्नो पेशालाई निरन्तरता दिनु पर्ने भन्दै राजनीति गर्ने भए राजनीतिलाई नै आत्मसाथ गरि सो पेशा परित्याग गर्न आग्रह गर्नुभयो ।
पछिल्लो समयमा निकै चर्चाको बिषय बनेको डा. गोबिन्द के.सी.को आन्दोलनको प्रति लक्षित गर्दै बाँस्कोटाले भने सबै ब्यक्ति ब्यक्तिको माग सरकारले पुरा गर्न नसक्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले न्यूनतम पारिश्रमिक कार्यान्वयन नभए महासंघले आन्दोलनको स्वरुप अघि बढाउने बताउनु भयो ।
उहाँले बिज्ञापनमा देखिएको एकाधिकार तोड्दै समानुपातिक प्रणाली लागू गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको पत्रकारिताको पक्षलाई अध्ययन गरि त्यसबाट नेपाली राजनीतिले सिको गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलिप थापामगर जिल्ला समन्य समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापालगायतले सञ्चार क्षेत्रको विकासमा सरोकारवालाहरुको ध्यान जानु पर्ने र सरकारले सञ्चार क्षेत्रमा लगाउन खोजेको अंकुश तर्फ बेलैमा पुर्नअवलोकन गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रमा सचिब कृष्णप्रसाद नेपालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष मोहन बल्लले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री बाँस्कोटाले शाखाले प्रकाशन गरेको भक्तपुरको पत्रकारिता नामक स्मारिका बिमोचन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरले स्थापना गरेको स्व. मैया देवी शिल्पकार पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका पत्रकार नारायण सुन्दर किलम्बुलाई सम्मान गरिएको छ ।