क्षतिग्रस्त विद्यालय २ वर्षभित्र पुनःनिर्माण हुने
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विनासकारी भूकम्पबाट क्षतिग्रस्त धर्माेदय माध्यमिक विद्यालय पालुङटार, गोरखाको पुनः निर्मित नयाँ भवनको बुधबार उद्घाटन तथा हस्तान्तरण गरेका छन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको ऋण सहयोग अन्तर्गत ५ करोड ६१ लाखमा १८ महिनामा निर्मित १३ कक्षाकोठाको ५ वटा भूकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दै उनले पालुङटार नगरपालिका प्रमुख दीपकबाबु कँडेललाई हस्तान्तरण गरे ।
मन्त्री पोखरेलले गुणस्तरीय शिक्षाको पूर्वाधारका रुपमा अत्याधूनिक र बालमैत्री भवनको आवश्यकता पर्ने भन्दै आगामी दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको बताए । कामको जिम्मा लिएर समयमा पुनः निर्माण नगर्ने दाताको विकल्पका बारेमा पनि सरकारले सोच्ने पनि बताए ।
मन्त्री पोखरेलले संविधानको कार्यान्वयनका क्रममा आगामी पाँच महिनाभित्र नयाँ शिक्षा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै पढाउन नसक्ने शिक्षकलाई विद्यालयबाट राजिनामा दिन पनि सुझाव दिए ।
उनले अपाङ्गता भएका विद्यार्थी साजन कुमाललाई सो विद्यालयमा नयाँ भर्ना गराई अभिभावकत्वसमेत लिएका थिए ।
विसं. २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पबाट जिल्लाका क्षतिग्रस्त ४ सय ४३ मध्ये हालसम्म २ सय ५४ विद्यालय पुनः निर्माण भइसकेको मन्त्री पोेखरेलका प्रेस संयोजक सुनिल खडकाले जनाएका छन् ।
कार्यक्रममा शिक्षा बिभागका महानिर्देशक बाबुराम पौंडेलले शिक्षा क्षेत्रको समग्र विकासको लागी सबैंपक्षको सहकार्यको आवश्यकता रहेको बताउनुभयो । देश संघिय संरचनामा गईसकेकोले संघियता कार्यान्वयनमा सरकारलाई सघाउनुपर्ने पौंडेलले बताए ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) निर्देशक इमनारायण श्रेष्ठले विद्यालय पुनः निर्माणले मुलुकभर क्रमशः गति लिन थालेको बताए ।
मन्त्री पोखेरलले आजै पालुङ्टार नगरपालिका वडा नम्वर ५ मा रहेको भवानी मावि, भवानी बहुमुखी क्याम्पस, गोरखा पोलिटेक्निटल इन्स्टिच्युट, पालुङ्टार नगरपालिका वडा नम्वर ४ मा रहेको अमरज्योति जनता मावि लुईटेल, पालुङ्टार नगरपालिका वडा नम्वर २ मा रहेको शारदा माविको पनि अवलोकन र निरीक्षण गरेका थिए ।







































