पत्रकार खड्काको अवस्था पत्ता लगाउन माग

226

नेपाल पत्रकार महासङ्घले विगत चार दिनदेखि बेपत्ता भएका महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अवस्था पत्ता लगाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले पत्रकार खड्काको खोजीमा सरकार गम्भीर हुनुपर्ने भन्दै अवस्था पत्ता लगाउन सरकारसँग माग गरिएको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घले पत्रकार खड्काको खोजीमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय निकाय, प्रदेश सरकार, सुरक्षा निकाय र सञ्चारसम्बद्ध सङ्घसंस्थासँग आग्रह गरेको छ ।

भदौ १० गते करीब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन हुनुभएको थियो । चार दिन बितिसक्दा पनि पत्रकार खड्काको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।