काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्। कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पदको बाँडफाँडले मात्र मुलुक अगाडि बढ्न नसक्ने कुरा विगत ३४ वर्षले प्रमाणित गरिसकेको बताए।
उनले ठूला दलहरू मिलेर सरकार गठन गरे पनि जनअपेक्षा अनुसार परिणाम दिन नसकिएको उल्लेख गरे। “ठूला पार्टीहरू मिलेर सरकार बनायौँ, तर हाम्रा नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर सुरक्षित स्थानमा राख्नुपर्ने अवस्था आयो,” भण्डारीले भने।
नेता भण्डारीले वर्तमान अवस्थालाई चुनौतीपूर्ण भन्दै अहिलेको प्रमुख लक्ष्य प्रजातन्त्र जोगाउनु रहेको बताए। देश कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पार्टी एक ढिक्का भएर चुनावमा जानुपर्ने आवश्यकता औँल्याए।
उनले अब दलहरू केवल सरकार निर्माणमा मात्र सीमित नरही पार्टी निर्माण, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध बलियो बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।








































