पर्यटकको आकर्षण केन्द्र बन्दै बेथानचोक

1

काभ्रेपलाञ्चोक।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाका प्रमुख पर्यटकीय क्षेत्रहरूमा पर्यटकको सुविधाका लागि विश्रामस्थलदेखि सिँढीसम्मका पूर्वाधार निर्माण गरिएका छन्। यसले गाउँपालिकामा आउने पर्यटकका लागि थप सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।

गाउँपालिकामा हाल जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (STLRP) सञ्चालनमा रहेको छ। पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड को एसटीएलआरपी परियोजना गाउँपालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको छ। परियोजनाका लागि UNDP को आर्थिक सहयोग रहेको छ।

परियोजनाअन्तर्गत बेथानचोक गाउँपालिकाका विभिन्न स्थानहरूमा पूर्वाधार निर्माण गरिएको छ। जसअन्तर्गत बेथानचोक पर्यटन विश्रामस्थल, तीनतले पर्यटन गन्तव्य तथा ब्राह्मण डाँडा पर्यटकीय गन्तव्य निर्माण कार्यक्रम रहेका छन्।

ब्राह्मण डाँडामा पिकनिक स्पट, सार्वजनिक शौचालय तथा मन्दिर मर्मतको काम सम्पन्न भएको छ। त्यसैगरी, तीनतले पर्यटन गन्तव्यअन्तर्गत चेन्जिङ रुम, पर्यटकका लागि आराम गर्ने स्थान तथा सहज आवतजावतका लागि सिँढी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

उक्त स्थानमा ‘तीनतले झरना’ लेखिएको थ्रीडी बोर्ड पनि राख्ने तयारी गरिएको छ। जिल्लाकै आकर्षणको केन्द्र बन्दै गएको बेथानचोक पर्यटन विश्रामस्थलमा हाइकिङ गर्ने पर्यटकका लागि दुई स्थानमा विश्राम गर्दै दृश्यावलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ।

यी कार्यक्रमका लागि कुल ३५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसमा एसटीएलआरपीमार्फत १५ लाख रुपैयाँ र २० लाख ४० हजार रुपैयाँ गाउँपालिकाले व्यहोर्ने जनाएको छ।

यस बाहेक तीनवटै स्थानमा करिब ३० वटा डस्टबिन राखिएको छ। पर्यटकको सहजताका लागि विभिन्न स्थानमा साइनबोर्डहरू पनि जडान गरिएका छन्, जसले दूरी तथा गन्तव्यसम्बन्धी जानकारी प्राप्त गर्न सहयोग पुर्‍याउनेछ।

उक्त परियोजना आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। असोज २१ गतेबाट सुरु भएको परियोजनामा दक्ष स्थानीय जनशक्ति अभाव केही चुनौतीका रूपमा देखिए पनि अन्य कुनै ठूलो समस्या नरहेको गाउँपालिकाका अध्यक्ष भगवान तिमल्सिना ले जानकारी दिएका छन्।

परियोजना सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वाधार र सेवा दुवै पक्षमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। अध्यक्ष तिमल्सिनाका अनुसार “चेन्जिङ रुमले पर्यटकलाई थप सहजता दिनेछ भने ब्राह्मण डाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुनेछ, जुन अहिलेसम्म पर्याप्त रूपमा प्रचारमा आएको थिएन।”

गाउँपालिका अध्यक्षको पहलमा ल्याइएको यस परियोजना सम्पन्न गर्न वडाध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरूले पनि सक्रिय भूमिका निर्वाह गरेका छन्।