काठमाडौं क्षेत्र नं २ का लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार, नेपाली कांग्रेसका नेता तथा नवर्तमान सांसद दिपकप्रसाद कुइँकेल २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनको उपनिर्वाचनमा १८ हजार २ सय मत ल्याएर विजयी भएका थिए । सो निर्वाचनमा नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली काग्रेसकी नेतृ प्रतिमा गौतमको भन्दा करीव साढें नौ हजार बढी अर्थात २१ हजार ७सय ४७ मतले जितेका थिए । काठमाडौं २ र रौतहट गरी दुबै क्षेत्रबाट जितेपछि नेता नेपालले काठमाडौं २ छोडेपछि २०७१ मा भएको उपनिर्वाचनमा कुंइकेलले एमालेका नेता कृष्णगोपाल श्रेष्ठको भन्दा ४ हजार १ सय ४३ मत बढी ल्याएर सो ठाउँ जितेका थिए । काठमाडौं महानगरका ९ र ३२ वडामा ३० हजार २ सय १० तथा शंकरापुर नगरपालिकाका सबै वडाका १९ हजार ९ सय १ र कागेश्वरी मनहरा नगरपालिकाका ४ देखि ९ वडाका गरि २४ हजार ५ सय ३७ गरि ७४ हजार ७ सय ५६ मतदाता रहेका छन् । २१ मंसीरमा हुन लागेको प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार रहेका तिनै निर्वमान सांसद कुइंकेलसंग बलराम प्यासीले गरेको कुराकानी ।
चुनावी प्रचारप्रसारको गति कस्तो छ ?
यतीखेर यस क्षेत्र अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं ९ र ३२ को साथै कागेश्वरी मनोहरा नगरपालिकाका ४ देखि ९ वडा र शंकरापुर नगरपालिकाका सबै वडामा कोणसभा, घरदैलो, व्यक्तिगत भेटघाटका काम विहानदेखि अबेर साँझसम्म भइराखेको छ । लोकतान्त्रिक गठवन्धनसंग आवद्ध राजनैतिक दलका भातृ संगठन, महिला, विद्यार्थी, पेशागत संगठनले विभिन्न ठाउँमा राखेको कार्यक्रममा सहभागी भइराखेकोछु ।
तपाईको पक्षमा जनमत कस्तो छ ? मतदाता के भन्छन ?
यसक्षेत्रका विवेकशील र इमान्दार मतदाता उत्साहित छन् । पद र सानोतिनो लोभलालचमा फस्ने मतदाता मात्रै मेरो पक्षमा छैनन । म साधारण जीवनशैली भएको जनताको सेवक भएर होला मतदाताहरुले मलाई नै भोट दिन्छु भन्नुभएको छ । यसमा म विश्वस्त पनि छु । किनकी उहाँहरुले नै मलाई यसअघिको उपनिर्वाचनमा आफ्नो अमूल्य मत दिएर जिताएर पठाउनुभयो । म उहाँहरुप्रति कृतज्ञ छु ।
सांसद हुँदा पनि त्यस क्षेत्रमा केही गर्नुभएन भन्ने आरोप छ नि ?
म कहिल्यै झुठो बोल्दिन र बोलेको पनि छैन । मैले आफ्नो कार्यकालमा के के विकासका काम गरें भन्ने कुरा घामजस्तै छर्लंग्ग छ । त्यसो त छोटो कार्यकालमा आफुले सोचेजस्तो र जनताको मागका सबै कुरा वाध्यताले सम्वोधन गर्न सकिन, त्यसमा मलाई दुँख लाग्छ । तैपनि यसवीचमा मैले धेै काम गर्न भयाएको छु । बाँकी काम अबको चुनावमा जितेर गएपछि गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
आफ्नो कार्यकालमा के के गर्नुभयो त ?
तिनकुने जग्गाको छिनोफानोका कामदेखि ततकलिन नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीको समन्वयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अध्रिहणको जग्गाको चलनचल्ती मुल्यअनुसार मुआब्जा दिने कामलाई अगाडि बढाएको छु । विगत १५ वर्षदेखि रोक्किई राखेको मनोहरा जग्गा एकिकरणको कार्यलाई अघि बढाएको छु । तर त्यो जग्गाको काम एमालेकै कारणले रोकिएको हो । मुलपानीमा रहेको क्रिकेट ग्राउण्डदेखि मनोहरा करिडोर , काँडाघारी खानेपानी आयोजना, पेप्सीकोला टाउनप्लानिंगमा रहेको खेलमैदानको सुधार, थलीमा कलेज स्थापना, गोठाटारको सडक विकास र विस्तार, गणेशमान सिंह पार्क लगायतका थुपै्र काम गरेको छु । जुन त्यहाँका मतदाताहरुले प्रशंसा गरेका छन् ।
गर्न नसकेका काम चाँहि के के हुन त ?
तिनकुनेको जग्गाको समस्या र मनोहरा जग्गा एकिकरणको समाधान चाँहि अहिलेसम्म चुनौति बनेको छ । यसपालि जितेर गएपछि यी दुईवटा समास्या म आफ्नो कार्यकालमा कुनैपनि हालतमा पुरा गर्छु । समस्या समाधानको पहल त यसअघिकै मेरो कार्यकालमा शुरु गरिसकेको छु । अरु सानातिना कामहरु समयको अभावका कारण गर्न नसकेको हो ।
२ नं क्षेत्रका अनगिन्ति समस्या किन समाधान नभएका होलान ?
एमालेले नचाहेर हो । २०४८ सालदेखि निरन्त यसैक्षेत्रबाट सांसद जितेर उपप्रधानमन्त्री र प्रधानमन्त्री भइसक्नुभएका एमाले नेता माधवकुमार नेपालले गर्न चाहेका भएका यी सबै समस्या अहिलेसम्म समाधान भइसक्थ्यो । नेपाली काग्रेसले त २०७१ मा भएको उपनिर्वाचनमा मात्रै जितेको होइन ? माधव नेपालको तुलनामा त मैले यस क्षेत्रमा छोेटो कार्यकालमा धेरै काम गरेको जनताले देखेकै हो नि । २०४८ सालदेखि यसक्षेत्रमा नेपाली काग्रेसले जितेको भए अहिलेसम्म यसक्षेत्रका मतदाताको कुनैपनि समस्या बाँकी रहँदैनथ्यो सबै समाधान भईसक्थ्यो ।
वामगठवन्धनका कारण तपाइँले जित्न सक्नुहोला त ? जित्ने आशा कत्तिको छ ?
यसले केही असर गर्दैन । हामी पनि लोकतान्त्रिक गठवन्धनमा छौं । सदाचारयुक्त समाज बनाउन चाहने र यसअघि मलाई मत दिने मतदाताहरु अहिले पनि मेरै पक्षमा छन । जस्तोसुकै अन्य गठवन्धन बनेतापनि नेपाली काग्रेसको मत अन्यत्र जाँदैन, मलाई नै आउँछ ।
यसपालिको चुनावमा त विवेकशिल साझा पार्टीले पनि केही अप्ठेरो त पार्ला नि?
हामी र अन्य राजनैतिक दलहरुले गरेका कमी कमजोरीहरु औंल्याउँदै उहाँहरु नयाँ र युवापुस्तालाई आफ्नो पक्षमा ल्याउन लागिपर्नुभएको छ । ५ वर्षपछि हामी यसो उसो गर्छाैं भनिराख्नुभएको छ, त्यसैले अहिलेको चुनावमा यसले केही असर गर्लाजस्तो लाग्दैन । नेपाली काँग्रेसलाई आउने मत वामगठवन्धन र विवेकशीलतिर जाँदैन, बरु वामगठवन्धनको मत चाँहि त्यता जाने संभावना छ ।
मतदातालाई आफ्नो पक्षमा पार्न के के गरिराख्नुभएको छ त ?
हामी जे कुरा गर्छाै सत्य कुरा भनिराखेका छौं । सोझा र शिक्षित मतदातालाई कुनै पदको आश्वासन र कुनै आर्थिक प्रलोभन दिएका छैनौं र दिँदैनौं पनि । स्वच्छ हिसावले नै चुनाव जित्न सकिन्छ भन्ने मेरो विश्वास हो । यक्षेत्रका मतदाताले मेरो इमान्दारीता र नैतिकतालाई उच्च कदर गर्नुहुनेछ । यसअघिको छोटो कार्यकलामा पनि मैले जनताको मन जित्ने काम गरेकै हो । काम गर्दै जाँदा भएगरेका कमी कमजोरीहरु आगामी दनमा सुधार्दै जानेछु भनेर मतदाता सामु वचन व्यक्त गरेकै छु ।
अन्त्यमा केही भन्नु छ की ?
काठमाडौंं २ नं क्षेत्रका मतदाता विर्सेर पनि आफ्नो मत गलत र यस क्षेत्रलाई माया नगर्ने उम्मेदवारलाई दिँदैनन भन्ने कुरामा म पूर्ण विश्वस्त छु । २०४८ सालदेखि २०७० सालसम्म भएका निर्वाचनमा यसक्षेत्रका मतदाताको मत खेर गएको त सबैले देखेकै हो नि ? २०६४ को निर्वाचनमा माओवादीका झक्कु सुवेदीलाई र त्यसको अघिपछिका चुनावमा एमालेलाई मत हालेका मतदाताले के पाए त ? यसक्षेत्रको विकास भयो ? विगतको तुलनामा अहिले मतदाता धेरै विवेकी भइसकेका छन । उनीहरु आफुले २० वर्षसम्म गलत व्यक्तिलाई मत हालेर गरेको गल्ती फेरी दोहोर्याउन चाहँदैनन ।
Related