पाइलट रिजालद्वारा क्रिकेट सामाग्री उपहार

330

काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन पाइलट तथा समाजसेवी श्रवण रिजालले क्रिकेटका एकजना उदीयमान खेलाडी छात्रलाई क्रिकेट सिक्नको लागि क्रिकेट एकेडेमीमा भर्ना गरिदिनुको साथै क्रिकेट सामाग्री समेत उपहार दिनुभएको छ ।
पत्रकार एव्म स्काउट शिक्षक बलराम प्यासीको पहलमा रिजालले राजधानीको सिनामंगलस्थित शिक्षान्तर स्कूलमा ८ कक्षामा अध्ययनरत तिनकुने निवासी विद्यार्थी कपिल भण्डारीलाई क्रिकेट खेल्नको लागि आवश्यक पर्ने क्रिकेट ब्याट, हेल्मेड, लेग गार्डदेखि सम्पूर्ण सामाग्री उपलब्ध गराउनुभएको हो ।
क्रिकेट सामाग्री उपलव्ध गराउनेमात्रै नभई उहाँले क्रिकेटमा रुचि राख्ने विद्यार्थी कपिललाई पेप्सीकोला टाउनप्लानिंगस्थित नेक्सस क्रिकेट एकेडेमीमा क्रिकेट खेल सिक्नका लागि भर्ना समेत गरिदिनुभएको छ ।
आफूपनि क्रिकेटमा रुचि राख्ने भएको र पछिल्लो समयमा नेपालमा क्रिकेटको राम्रो विकास हुँदै आएको उल्लेख गर्दै वरिष्ठ पाइलट रिजालले क्रिकेटका उदीयमान खेलाडी छात्र कपिललाई आफुले सानो सहयोग मात्रै गरेको बताउनुभयो । विद्यार्थी कपिलले विद्यालयमा आयोजना भएका क्रिकेट प्रतियेगिता जितेर एकदर्जन पदक पाईसकेका छन् ।
यसअघि पाइलट रिजालले मृगौला रोगीको उपचारको लागि आर्थिक सहयोग गर्नुका साथै समय समयमा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गर्दै आउनुभएको छ । रिजाल नेपाल वायुसेवा निगमको एयरबस ए ३२० का वरिष्ठ पाइलट हुनुुन्छ ।