पाठक पत्र : मानवीय सहयोग गर्दा उल्टै सजाय ? काठमाडौं क्यान्सर सेन्टरको ज्यादती 

0

केही दिनअघि राति भक्तपुरको ताथली फैढाेकास्थित स्थानीय भुजेलकाे घरमा एउटा दुःखद घटना घट्यो। स्थानीय भुजेल परिवारको घरमा करिब साढे आठ बजेतिर अचानक आगलागी भयो। रातको समयमा लागेको आगोले घरमा ठूलो क्षति पुर्याउने जोखिम देखिएको थियो। यस्तो आपत्कालीन अवस्थामा सबै स्थानीय आगलागी नियन्त्रणका लागि लागे । स्थानीयले नजिकैको काठमाडौं क्यान्सर सेन्टर परिसरबाट दुई वटा फायर स्टिङ्ग्युसर( अग्नि नियन्त्रक) ल्याएर आगो निभाए ।

स्थानीय र साे सेन्टरका सुरक्षाकर्मीहरूले तत्काल मानवीय भावना देखाउँदै ती उपकरण प्रयोग गरेर आगो नियन्त्रण गर्न सहयोग गरे। यसले ठूलो क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको थियो। तर दुःखको कुरा, आगो निभाएपछि अस्पताल प्रशासनको व्यवहार भने मानवीय नभई उल्टै अपमानजनक देखियो।

अस्पतालको सुरक्षा व्यवस्थापन गर्ने Himalayan Security Services का गार्डहरूलाई अस्पताल प्रशासनले “किन नसोधीकन फायर स्टिङ्ग्युसर लगेकाे, जले उनीहरूको घर जल्छ,आगाे निभाउने काम यहाँका सुरक्षाकर्मीकाे हाे?” भन्दै हप्कीदप्की गरे । अनि उनीहरूलाई अग्नि नियन्त्रक प्रयोग गरेकाे भनी ५ हजार रुपैयाँ तिर्न भने । बिचरा, सुरक्षाकर्मीहरू आगलागी नियन्त्रणका लागि गरेको सहयोगकाे सराहनाकाे सट्टा अस्पतालले अपमान गरेको छ । उनीहरूलाई जसरी भए पनि त्याे रकम तिर्न भने । नतिरे सुरक्षाकर्मीकाे तलबबाट कटाउने धम्की दियाे ।

मानिसको घर जलेर नष्ट हुन लाग्दा, छिमेकी संस्थाबाट आगो निभाउने साधन प्रयोग गर्नु अपराध हो? मानवीय सहयोगलाई प्रोत्साहन दिनुपर्ने ठाउँमा उल्टै आर्थिक जरिवाना र हप्कीदप्की गर्नु कत्तिको उचित हो? हुन त अस्पताल र स्थानीयबीचकाे सम्बन्ध त्यति गतिलो छैन । अस्पतालले अहिलेसम्म पनि स्थानीयले राख्दै आएको कुनै पनि माग सम्वाेधन गरकाे छैन ।

भुजेल परिवार आर्थिक रूपमा विपन्न रहेको छ। यस्तो अवस्थामा छिमेकी संस्थाले सहानुभूति र सहयोग देखाउनु पर्ने हो। तर आगलागी जस्तो संवेदनशील घटनामा समेत सहयोग गर्नेहरूलाई दोषी ठहर गर्ने प्रवृत्ति समाजका लागि चिन्ताजनक विषय हो। अझ स्वास्थ्य सेवा दिने अस्पतालबाट यस्तो व्यवहार हुनु झनै दुःखद छ। हुन त लासमा समेत पैसा असुल्ने याे सेन्टरकाे विशेषता नै हाे ।

अस्पताल भनेको पीडा र संकटमा परेका मानिसलाई राहत दिने संस्था हो। तर यदि यस्ता संस्थाले मानवीय संवेदनशीलता बिर्सेर केवल नियम र पैसालाई मात्र प्राथमिकता दिन थाले भने समाजले के अपेक्षा गर्ने? भविष्यमा यस्ता आपत्कालीन अवस्थामा मानवीय सहयोगलाई दण्डित गर्ने होइन, प्रोत्साहन गर्ने वातावरण बनाइनुपर्छ। अस्पतालकाे याे ज्यादती अन्त्य हुनुपर्छ ।

– पीडित स्थानीय तथा कर्मचारी ।

मेलमा प्राप्त