भक्तपुर / मादल, ढोल, बटा, ढुल्की, राहाड, बसी, दोत्रो बनाम, ठाप, घुक्क्रो, कुर्ताल, मुरलीका साथमा बाघका छाला, चितुवाका छाला ओढेर स्टेजमा आदिवासी जनजाति सन्थाल जातिका नयाँ पुस्ता देखिए ।
अनि संगीतसँगै यिनीहरु नाच्न थाले । मूलतः पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा रहेका अल्पसंख्यक सतार जातिको पुख्र्यौली परम्पराको नेपालको अति नै प्राचीन मौलिक नृत्यको रूपमा परिचित सतार नृत्यका लागि त्यताबाट आएका थिएनन्, तिनीहरु भक्तपुरको कमलविनायकबाट आएका थिए ।
सतारको जातीय इतिहास ‘कियो सिन्दूर’ मा उल्लेख भएअनुसार परापूर्वक, दैवी कालमा दानवको अत्याचार खप्न नसकी देवताहरू भगवतीको शरणमा पुगे । देवताहरूको अनुरोध स्वीकार गरी माता भगवती सतिनसार आफ्नो भयङ्कर रूपमा प्रकट भए । दानवीय शक्तिलाई परास्त गरे । अन्तमा बाँचेखुचेका दानव सेनाहरू डरले काम्दै आ–आफ्ना हातहतियार हल्लाउँदै भगवतीको शरणमा परे । भगवतीको सहायतामा देवताले प्राप्त गरेको सोही विजयको खुसियाली एवं सम्झना स्वरूप सतारहरूले पनि काम्दै, लठ्ठी हल्लाउँदै भगवतीको शरणमा परि नृत्य प्रस्तुत गर्न थालेको बताइन्छ ।
यही परम्परा आज विकसित र परिमार्जित हुँदै सतार नृत्य बन्न पुगेको छ ।
नेपालको अल्पसंख्यक आदिवासी सतारहरु नाच्ने नृत्यलाई पारागनका विद्यार्थीहरुले सतार जातिको झल्को दिए । उनीहरु रङमा काला भएपनि निकै सरल, मिलसार र मेहेनती हुन्छन् भन्ने मान्यता अझ पनि छ । सोही मेहनतको फल पारागनका विद्यार्थीले पाए, भक्तपुर जिल्ला विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम भएर ।
सूर्यविनायक नगरपालिका वडा नं। ४ दधिकाटस्थित चखुँ प्रकाश समूहको आयोजनामा भएको चौथौं जिल्लास्तरीय नृत्य प्रतियोगिता २०७४ मा पारागन पहिले भएको आयोजकले जनाएको छ ।
समूहको चौधौं वार्षिकोत्सवको अवसरमा पारागन एकेडेमीका विद्यार्थीहरुले सतार जातिहरुको नाच प्रस्तुत गरेका थिए ।
जिल्लाका ३० वटा विद्यालयहरुको सहभागिता रहेको सो प्रतियोगितामा कौशलटार सेकेण्डरी स्कुल दोस्रो, मनकामना ईग्लिस सेकेण्डरी स्कुल तेस्रो र प्राइम एकेडेमी र मेरीगोल्ड ईग्लिस स्कुल सान्त्वना भएका छन् ।
त्यस्तै सो प्रतियोगितामा सुप्रिम एकेडेमी र मोर्डन इग्लिस स्कुललाई विशेष पुरस्कार दिइएको छ भने उत्कृष्ट भेषभूषाको पुरस्कार नवरत्न इग्लिस स्कूलले पाएको छ । त्यस्तै उत्कृष्ट नृत्य निर्देशकका उपाधि पारागनका बालमुकुन्द प्रजापतिलाई दिइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजयी र उत्कृष्ट हुन सफल विद्यालयहरुलाई सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गरेका थिए ।








































