पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि

0

काठमाडौँ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ। उहाँको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन बिताउनुभएका स्वर्गीय दाहाल विसं २०५६ को आमनिर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रही उहाँले नेपाली कांग्रेसको सङ्गठन निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिसमेत रहनुभएका दाहालप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य बलबहादुर केसी, रामहरि खतिवडालगायत नेताहरू पशुपति आर्यघाट पुगेका थिए। साथै एमाले नेता ईश्वर पोखरेल, वामपन्थी नेता लोककृष्ण भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरूले पनि श्रद्धाञ्जली अर्पण गर्नुभयो।

त्यसैगरी गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतसहित सञ्चार क्षेत्रका पत्रकार तथा शुभेच्छुकहरूले स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्वर्गीय दाहालको शुक्रबार साँझ ८७ वर्षको उमेरमा निधन भएको थियो।