पूर्व जनप्रतिनीधि स्व. गिरीको स्मृतिमा श्रद्धाञ्जलि

360

भक्तपुर । साविक ताथली गाविसको वडा नं. ६ का वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट चुनिएका स्व.गणेशबहादुर गिरीको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम भएको छ ।
नेमकिपा ताथलीले आयोजना गरेको सो कार्यक्रममा नेमकिपाका विभिन्न तहमा रहेका व्यक्तिहरुले स्व. गिरीले स्थानीय क्षेत्रको शैक्षिक, सडक, खानेपानी, बिजुलीलगायतका पूर्वाधारको विकासका लागि दिएको योगदानको सम्झना गरेका थिए ।
श्रद्धाञ्जलि सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोँजूले स्व. गिरी इमान्दार, लगनशील, निडर, संघर्षशील र अनुशाशित व्यक्ति भएको चर्चा गर्दै उनीसँग सबैसँग मिलेर काम गर्ने खुबी रहेको चर्चा गरेका थिए । उनले उनको व्यक्तित्वबाट अन्य पार्टीका मानिसहरुसमेत प्रभावित भएकोले उनीबाट सबैले सिक्न जरुरी भएकोमा जोड दिए ।
पार्टीको असल कार्यकर्ताका अलाला सामाजिक रुपान्तरणका योद्धासमेत रहेका स्व. गिरीले दक्षिण्काली प्राथमिक विद्यालय बनाउन खेलेको भूमिका अतुलनीय भएको उल्लेख गर्दै अध्यक्ष फोँजूले उनेको सपनालाई साकार बनाउन सकेको खण्डमा उनीप्रति बोलीले नभएर व्यवहारले समेत श्रद्धाञ्जलि हुने बताए । उनले सो विद्यालय बनाउनका लागि एक रोपनी जग्गासमेत दान दिएका थिए ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरका अध्यक्ष गोविन्द दुवालले ताथलीका किसानहरुको स्तर उकास्नका लागि स्व. गिरीले दिनरात नभनी संघर्ष गरेको, समाजका ठूलाठालूहरुले गरेका अन्यायविरुद्ध लडेको स्मरण गर्दै स्व. गिरी हक्की स्वभावका रहेको पनि उल्लेख गरेका थिए ।
अध्यक्ष दुवालले पार्टीप्रति बफादार, कुनै पनि अवस्थामा पार्टीको सिद्धान्त नछोड्ने खालका व्यक्तिहरुलाई पार्टीले मात्र नभएर समाजले पनि सम्झिरहने बताउँदै स्व. गिरीलाई वि.सं. २०२६ सालदेखि नै प्रत्यक्ष रुपमा चिनेको चर्चा गरे ।
पार्टीका विभिन्न कार्यक्रम, आन्दोलन, जुलुसमा प्रत्यक्ष सहभागी भएका स्व. गिरीको जन्म वि. सं. २००२ साल बैशाख २० गते भएको थियो । गत चैत १ गते निधन भएका गिरीको सम्झनामा आयोजित कार्यक्रममा चाँगुनारायण नपा वडा नं. ९ का महिला सदस्य कमला गिरी, परिवारजनको तर्फबाट स्व. गिरीका छोरा सुरेशराज गिरीले पनि स्व. गिरीको सपना साकार बनाउने दिशामा आफूहरु लाग्ने बताएका थिए ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेमाफूकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका घनश्याम खड्काले स्व. गिरीको जीवनी प्रस्तुत गरेका थिए । कार्यक्रममा हरिसुन्दर छुकांले पनि स्व गिरीको योगदानलाई बिर्सन नहुनेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागी पार्टी कार्यकर्ता, शुभेच्छुक, परिवारजन, स्थानीयवासीलगायतले स्व. गिरीको तस्विरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।