Home निर्वाचन पैसामा विक्ने नेता–मन्त्री भएसम्म औद्योगिक विकास हुन्न : बिजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्योगी व्यवसायीसँग पैसामा विक्ने नेता नेता तथा मन्त्री भएसम्म औद्योगिक विकास नहुने बताउनुभएको छ ।
भक्तपुर घरेलु तथा साना उद्योग संघको २७ औं वार्षिक साधारणसभा बिहीबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले उद्योेग व्यवसायमैत्री नीतिनियम बनाउनेभन्दा उल्टै उद्योगी व्यवसायीबाट लाखौं रुपैयाँ बुझ्ने नेता तथा मन्त्री भएसम्म औद्योगिक विकास नहुने बताउनुभएको हो ।
उहाँले भक्तपुरकै एक उद्योगमन्त्री हुँदा भक्तपुर औद्योगिक क्षेत्रबाट लाखौं रुपैयाँ उठाएर लगेको दृष्टान्त सुनाउनुभयो । ‘भक्तपुर नगरपालिकाले पटकपटक कर तिर्न आह्वान गर्दा भक्तपुर औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले कर तिर्न मानेनन्’, अध्यक्ष बिजुक्छेले भन्नुभयो, ‘तिनै उद्योगी व्यवसायीहरुबाट उद्योगमन्त्री भएका भक्तपुरकै नेताले २५ देखि ३५ लाख रुपैयाँ बुझे ।’
अनि ती नै उद्योगी व्यवसायीले भक्तपुर औद्योगिक क्षेत्रमा विकास गरेन भन्ने आरोप लगाउँदै आएको उहाँको भनाइ थियो ।
कानुनी रुपमा नपालाई तिर्नुपर्ने कर नतिर्ने अनि नपाले केही गरेन भनेर उद्योगी व्यवसायीले चोखिन नपाउने उहाँको भनाइ थियो । त्यस्तै नगरपालिकालाई तिर्नुपर्ने करसमेत तिर भन्न नसक्ने व्यक्तिहरु उद्योगमन्त्री वा अन्य मन्त्री हुने परिपाटी भएसम्म देशको विकास नहुने उहाँको भनाइ थियो ।
प्रदूषणको बहानामा चोभारस्थित सरकारी सिमेन्ट कारखाना नै बन्द गरिएकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष बिजुक्छेले हातमा घाउ भयो भने उपचार नगरी हात नै काट्ने संस्कारबाट नेपालका शासक तथा कर्मचारीतन्त्र आक्रान्त भएको सुनाउनुभयो ।
‘म उत्तर कोरिया भ्रमणमा जाँदा सहरमै सिमेन्ट कारखाना चलिरहेको पाएँ तर त्यसको प्रदूषण कतै देखिएन । यो कसरी सम्भव भयो भनी हेर्दा सिमेन्ट कारखानाबाट निस्कने धुँवाधुलोलाई एउटा ठूलो हलमा पठाएर त्यहाँ पानीको फोहरा लगाएर व्यवस्थापन गरिएको देखेँ’, उहाँले भन्नुभयो, ‘यो प्रविधि कहाँबाट आयो भनी सोध्दा जर्मनीबाट ल्याएको जानकारी दिइयो । जर्मनीसँग नेपालको सम्बन्ध पनि राम्रै छ । जर्मनीबाट त्यस्तो प्रविधि ल्याउन नेपालले किन सोचेन ?’
त्यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर नगर क्षेत्रमा रहेका उद्योग व्यवसायबाट आवश्यक कर नउठिरहेको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नपाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आए पनि करको दायरामा आएर नपासँग समन्वय र सहकार्य गर्न आग्रह गर्नुभयो ।
‘भक्तपुर नगर क्षेत्रमा करिब आठ हजार घरेलु तथा साना उद्योग दर्ता भएको देखिन्छ तर त्यसमध्ये ४० प्रतिशतमात्रै नवीकरण भए पनि आधामात्रै जेनतेन चलेको पाइन्छ’, मेयर प्रजापतिले भन्नुभयो, ‘नपाले घरलु तथा साना उद्योगलाई प्राथमिकता दिँदै आएका छौं । त्यसैले करको दायरामा आएर सहकार्य गर्न हामी सदैव तयार छौं ।’
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्षद्वय मुकेश उपाध्याय र चन्दनकृष्ण श्रेष्ठले युवाहरुलाई उद्यमी बनाएर देशमै पर्याप्त रोजगारी सिर्जनागर्ने नीति तथा कार्यक्रम ल्याउन नगरपालिकासमक्ष आग्रह गरेका थिए ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती र सचिव प्रेम खर्बुजाले जनशक्ति अभावले घरेलु तथा साना उद्योग धराशायी बन्दै आएकोले यसमा युवाहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संघको सचिवालय भवन निर्माण गर्न आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मानसमेत गरिएको थियो ।
Related