‘पैसा लिएर सूची बनाइयो’ आरोपपछि जनमत पार्टीका २० समानुपातिक उम्मेदवारले उम्मेदवारी फिर्ता

0

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट खसआर्य क्लस्टरका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेहरूले पार्टी उपाध्यक्ष बसन्त कुशवाहाले रकम लेनदेनका आधारमा समानुपातिक सूची तयार गरेको गम्भीर आरोप लगाएका छन्।

जनमत पार्टीले खसआर्य क्लस्टरमा ३३ जनालाई उम्मेदवार बनाएको थियो। उम्मेदवारी फिर्ता लिने लक्ष्मी खड्काले पार्टी उपाध्यक्ष कुशवाहाले खसआर्य उम्मेदवार खोजेर ल्याउन आग्रह गर्दै सूचीको पहिलो नम्बरमा राख्ने आश्वासन दिएको दाबी गरिन्।

उनले भनिन्, “मान्छे खोजेर दिएपछि उपाध्यक्ष कुशवाहाले मसँग दुई करोड रुपैयाँ माग्नुभयो। पार्टीका लागि दुई करोड दिएपछि मात्र समानुपातिक सूचीको एक नम्बरमा राखिन्छ भनियो।” आफूले रकम दिन असमर्थ रहेको बताएपछि आफ्नो नाम तेस्रो नम्बरमा राखिएको र पार्टीमा कहिल्यै नाम नसुनिएका व्यक्तिहरूलाई पहिलो र दोस्रो नम्बरमा राखिएको उनको आरोप छ।

खड्काका अनुसार कुशवाहाले अन्य उम्मेदवारसँग तीन–तीन करोड रुपैयाँ लिएर समानुपातिक सूचीको माथिल्लो स्थानमा नाम राखेको आरोपसमेत छ। “हामी समानुपातिक सांसद नै नबन्ने भएपछि त्यहाँ उम्मेदवार भएर बसिरहनुको अर्थ रहेन,” उनले भनिन्, “पार्टीले रकमको लेनदेन गरेर सूची बनाएको देखेपछि चित्त दुखाएर उम्मेदवारी फिर्ता लिएका हौं।”

समानुपातिक उम्मेदवारी फिर्ता लिनेमा लक्ष्मी खड्का, नीरा निरौला, सुशीला पाण्डे, प्रकाश बस्नेत, सुमित्रा खतिवडा, लक्ष्मी बराल, आशिष पोखरेल, श्रीकृष्ण भट्टराई, सुमनराज काफ्ले, प्रकाश श्रेष्ठ, चेतबहादुर कार्की, पूजा मर्दनियाँ, खड्गबहादुर तामाङ, प्रमिला श्रेष्ठ तिवारी, दिनेश पाण्डे, साधनाकुमारी पराजुली, प्रतीक्षा पौडेल थापा, सञ्जीवकुमार खड्का र तेजप्रसाद आचार्य रहेका छन्।

खसआर्य महिला क्लस्टरको समानुपातिक सूचीमा पहिलो नम्बरमा रुपन्देहीकी इन्द्रा कुँवर र दोस्रो नम्बरमा दाङकी डिलाकुमारी आचार्य रहेका छन्।

यसअघि पनि जनमत पार्टीले रकम लिएर समानुपातिक सांसद बनाएको आरोप लाग्दै आएको छ। अघिल्लो प्रतिनिधिसभामा सोनु मुर्मुर र विनिता कुमारी सिंहलाई कारबाही गरेपछि यस्तो आरोप सार्वजनिक भएको थियो। सोनु मुर्मुरले आफूबाट रकम लिएर सांसद बनाइएको दाबी गर्दै सांसद पदबाट हटाउन नहुने प्रतिक्रिया दिएकी थिइन्। पार्टीले पटक–पटक प्रयास गरे पनि उनलाई सांसद पदबाट हटाउन सकेको थिएन।