पोखराको आकाशमा विदेशीको मनलाग्दी, आफूखुसी प्याराग्लाइडिङ प्रतियोगिता

311

पोखरा : पर्यटकीय दृष्टिकोणले स्वदेशी तथा विदेशीहरूको प्रमुख रोजाइको गन्तव्‍य हो पोखरा। हिमालको काखको उपत्यका र यहाँका डाँडाकाँडाले नै सबैको मन लोभ्याउँछ। त्यसैमाथी फेवाताल, बेगनास तालमा माछापुच्छ्रे र अन्नपूर्णको छायाँले झनै मनमोहक तुल्याउँछ। पोखरा आउने प्रायले सराङ्कोटबाट प्याराग्लाइडिङमा उडान भरेर फेवाताल माथिको आकाशमा रम्ने गर्छन्।

झण्डै तीन सयले प्रतियोगितामा भाग लिँदै

विदेशीहरु वर्षेनी यहि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्न सयौँको संख्यामा आउँछन्। आफ्नो देशमा भन्दा सुरक्षित मानिने कारणले नै विदेशीहरु पोखराको आकाशमा साहसिक खेल प्याराग्लाइडिङ उडान भर्न आउँछन्। अहिले पोखराको आकाशमा  झण्डै ३०० सय विदेशी ब्यक्तिगत रुपमा प्याराग्लाइडिङ उडानको अनुमति लिएर प्रतियोगितामा भाग लिइरहेको स्रोतले बतायो। रसियन नागरिक इजोभ काजकोभले ओपन हिमालयन नाम दिएर अहिले विदेशीहरु बिच पोखरामै प्याराग्लाइडिङ प्रतियोगिता गरिरहेका छन्। उनले नेपाल सरकारको कुनै पनि नियकासँग अनुमति पनि लिएका छैनन्। गत फागुन १५ गतेबाट सुरु उक्त हिमालयन कपमा सहभागी विदेशीसँग आयोजकले प्रतिब्यक्ति २५ यूरो रकमसमेत उठाएका छन्।

फाइल फोटो

पोखराको आकाशमा प्याराग्लाइडिङको उडान अनुमति दिने नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख भोला प्रसाद गुरागाइँका अनुसार यो आर्थिक वर्ष यता मात्रै ८२१ जना विदेशीले पोखराको आकाशमा उडान भर्न अनुमति लिइसकेका छन्। ‘यो आर्थिक वर्षको कुरा गर्दा ८२१ जनाले पोखराको आकाशमा प्याराग्लाइडिङ उँडाउन अनुमति नै लिइसकेका छन्,’ उनले भने, ‘अहिले १५ दिनको लागि मात्रै पोखराको आकाशमा उँड्न करिब ३०० जना विदेशीले अनुमति लिइसकेका छन्।’ अनुमति लिने विदेशीहरुले १५ दिनको प्रतिब्यक्ति पाँचहजार छ सय रुपैयाँ नेपाल सरकारलाई बुझाएका छन्। अहिले भइरहेको प्रतियोगिताबारे नागरिक उड्ययन प्राधिकरण पोखरालाई जानकारी नै छैन।

क्षमता जाँच नगरी उडानको अनुमति

आफ्नो देशमा भन्दा सुरक्षित प्याराग्लाइडिङ गर्न पाउने भएकै कारण पोखराको आकाशमा वर्षेनी हजारौँको संख्यामा विदेशीले उडान अनुमति पाउँछन्। उनीहरु सबै प्याराग्लाइडिङको उँडान अनुमति पत्र (लाइसेन्स) प्राप्त प्याराग्लाइडर हुन। तर, उनीहरुले पोखराको भूगोल, थर्मल, हावाको चाप, टेक अप र ल्याण्ड गर्ने ठाउँको बारेमा अध्ययन नै नगरी सिधै उडान भर्छन्। ‘उनीहरु लाइसेन्स प्राप्त त हुन्छन्। तर, यहाँको भूगोलबारे अध्ययन नगरी, यहाँको थर्मलको ख्याल नगरी उडान भर्नेहुँदा दुर्घटनाको जोखिम बढेको छ,’ गुरागाइँले भने। 

एनएएलाई पनि पत्तो छैन

नेपाल हवाई खेलकुद सस्था (एनएए) लाई पनि प्रतियोगिताबारे केहि जानकारी नभएको संस्थाका उपाध्यक्ष सोबित बानियाँले थाहा खबरलाई जानकारी दिए। ‘यसरी प्रतियोगिता गराउन र उँडान भर्नका लागि नागरिक उड्ययन प्राधिकरणबाटै लिनुपर्ने हो,’ उनले भने, ‘हाम्रो संस्थालाई पनि यसबारे आधिकारीक रुपमा केहि जानकारी छैन। यसरी थाहै नदिई प्रतियोगिता राजस्व पनि गुमेको छ।’

सरांकोट, तोरीपानी र मान्द्रेढुंगाबाट उड्छन्

एकल उँडानको अनुमति लिएर प्रतियोगितामा भाग लिनेहरु पोखराको सरांकोट, तोरीपानी र मान्द्रेढुंगाडाँडाबाट उँडिरहेका छन्। यसरी उँडान भर्नेहरुले सरांकोटको उचाइ भन्दा २ हजार फिट माथी मात्र उडान भर्न पाउँछन्। सरांकोटको उचाइ पाँच हजार फिट छ।

आइतबार फेवातालमा खसी ज्यान गुमाएका रोमानियाका नागरिक ४२ वर्षका इड सेड्जीयर पनि एकल अनुमति लिएर हिमालयन प्रतियोगितामै भागि लिएको बुझिएको छ। उनले गत फागुन १३ गते नागरिक उड्ययन प्राधिकरण पोखराबाट एकल उडान अनुमति लिएको रेकर्ड छ।

Source link