काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ कार्य तीव्र रूपमा भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार थान मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्ने लक्ष्य लिएको छ । कुल मतदाता सङ्ख्याभन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने भएकाले सोअनुसार लक्ष्य निर्धारण गरिएको आयोगको भनाइ छ ।
आयोगले उपलब्ध गराएको विवरणअनुसार अब एक करोड १९ लाख १३ हजार थान मतपत्र छपाइ हुन बाँकी छ । यस्तै हालसम्म २० हजार ८३० बाकस बराबरका मतपत्र प्याकिङ भइसकेका छन् भने १४ हजार ४२० बाकस बराबरका मतपत्र प्याकिङ गर्न बाँकी रहेको छ ।
जनक शिक्षा सामग्री केन्द्रले १० लाख ९८ हजार २०० थान मतपत्र नमूना (साम्पल) का रूपमा निर्वाचन आयोगमा पठाइसकेको जनाएको छ ।








































