माेरङ / प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा विराटनगरमा प्रदेश स्तरीय ‘महिला हक अधिकार सम्बन्धी’ प्रादेशिक महिला सम्मेलन मंगलबारबाट सुरु भएको छ । नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेश स्तरीय दुई दिने महिला सम्मेलनको आयोजना गरिएको हो । १०९ औं विश्व श्रमिक महिला दिवसको अवसरमा आयोजित सम्मेलनको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरे । सम्मेलनमा प्रदेश १ का १४ वटै जिल्लाका महिला प्रदेश सांसद, स्थानीय तहका एक सय ३५ जना महिला जनप्रतिनिधि, गैरसरकारी संस्थाका विज्ञ, महिला मानवअधिकारकर्मी, तथा कानुन व्यवसायी महिलाहरु सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।
सम्मेलन उद्घाटन गर्दै सभामुख भण्डारीले लैङिगक हिंसा अन्त्य गर्न विभेदपुर्ण संस्कार परिवर्तनमा जोड दिएका छन् । घरपरिवारमा चल्दै आएको विभेदपूर्ण संस्कार अन्त्य गर्न सकिए महिलामाथि हुने सबै प्रकारको विभेद र लैंगिक हिंसा अन्त्य गर्न सकिने उनको कथन छ । भण्डारीले वर्तमान संविधानले सामाजिक न्याय र समावेशीताको अधिकार दिएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वनको आवश्यकता औंल्याएका छन् । तीन तहको सरकारको सहकार्यवाट महिला अधिकार स्थापित गर्नुपर्ने बिषयमा समेत उनले जोड दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, नेपाली कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राई, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, संघीय समाजवादी फोरमकी सांसद राधा थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेता बिष्णु तुम्बाहाम्फे, राप्रपा संसदीय दलकी नेता ईन्दीरा राई लगायतले सम्मेलन सफलताको शुभकामना दिएका छन् ।
प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले समृद्धि र विकासका लागि महिला सहभागिता बढाउने, लैंगिक नीति निर्माण गर्ने र प्रदेशको विकासको आधार तयार गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनमार्फत महिलाले भोग्नु परेको समस्या र उनीहरुको हक अधिकारको सम्बन्धमा निचोडमा पुग्न सकिने उनले बताए । आधा दर्जन कार्यपत्रमाथि छलफल गरेर सम्मेलन बुधबार सकिने जनाइएको छ ।
Purbeli TV











































