विराटनगर / प्रदेश १ का धनकुटा र झापा जिल्लामा शनिबार राति भएका अलगअलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका–३ कन्यापोखरीमा भएको ट्याक्टर दुर्घटनामा चालक ३० वर्षीय मोहनसिंह तामाङको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । शनिबार राति साढे ११ बजे भेडेटारबाट राजारानीतर्फ जाँदै गरेको को १ त ५७६५ नम्बरको ट्रयाक्टर भेडेटार–राजारानी भित्री सडक खण्डमा आफै अनियन्त्रित भएर सडकबाट एक हजार दुई सय मिटर तल खस्दा दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ट्रयाक्टर चालक तामाङको उपचारका क्रममा आइतबार विहान १ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठानमै राखिएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा मोटरसाइकल दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका–८ डुडाँमारीका ४९ वर्षीय महेन्द्र भट्राईको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ९ प २९८८ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखिएको बा १३ च ७५२७ नम्बरको कारमा पछाडिबाट ठोक्किंदा भएको दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय कुमार गिरी र मोटरसाइकलको पछाडि सवार २९ वर्षीय महेन्द्र भट्राई गम्भीर घाइते भएका थिए ।
घाइते भट्राईको उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।











































