भक्तपुर । प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झा बिहीबार भक्तपुर क्यान्सर अस्पताल पुगेका छन् ।
अस्पतालमा उपचाररत आफ्नो निजी सचिवालयका कर्मचारी भविन्द्र कार्कीका बुबा जगतबहादुर कार्कीको स्वास्थ्य अवस्था बुझ्न प्रदेश प्रमुख झा अस्पताल पुगेका हुन् ।
अस्पताल अवलोकन गर्दै प्रदेश प्रमुख झाले अस्पतालले क्यान्सर बिरामीहरुको निःशुल्क उपचार गर्न सक्छ कि सक्दैन भन्ने अस्पताल ब्यवस्थापन लाई प्रश्न गरेका थिए । उनले अस्पतालले दिने सेवा सुविधाबारे समेत चासो व्यक्त गरेका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले उनलाई स्वागत गर्दै भक्तपुर क्यान्सर अस्पताल सरकारी–निजी सहकारीको उत्कृष्ट नमुना भएको सरकारले आर्थिक सहयोग उपलब्ध गराए अस्पतालले क्यान्सर बिरामीहरुलाई निःशुल्क उपचार गर्न सकिने जानकारी दिएका थिए । उनका अनुसार अस्पतालमा आउने क्यान्सर बिरामीहरुको चाप दिनप्रतिदिन बढिरहेको छ । भर्ना गर्न शय्या नपाउँदा दैनिक ३०–४० जना बिरामीहरुलाई फर्काउनुपर्ने बाध्यता छ ।’
नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्षसमेत रहेका श्रेष्ठले ‘सरकारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सरलाई उपलब्ध गराउने बजेटको १० प्रतिशतमात्रै उपलब्ध गराए भक्तपुर क्यान्सर अस्पतालले सम्पूर्ण क्यान्सर बिरामीको निःशुल्क उपचार गर्छौं’, उनले भने ।
अध्यक्ष श्रेष्ठले क्यान्सरको छुट्टै फ्याकल्टी नभएका निजी अस्पताललाई गरिब तथा विपन्न क्यान्सर बिरामीलाई दिइने अनुदान दिन नहुनेतर्फ प्रदेश प्रमुखको ध्यानाकर्षण गरेका थिए ।
‘विपन्न अनुदान जथाभावी दिँदा काठमाडांैका गल्लीमा खुलेका अस्पतालको पोल्टामा गएको तर अन्तिम अवस्थामा हामीकहाँ निःशुल्क उपचार गर्न आउने क्रम बढ्दो रहेको गुनासो उनको थियो ।







































