काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफुले नागरिकता र शैक्षिक प्रमणपत्र सार्वजनिक गरेजस्तै वर्तमान प्रधानन्यायधिश गोपाल पराजुलीलाई पनि आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र सार्वजनिक गर्न चुनौति दिएका छन् ।
अदालतको मानहानीको आरोप खेपिरहेका डा.केसीले बुधबार आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै पराजुलीलाई सो चुनौति दिएका हुन ।
प्रधानन्यायधिश पराजुलीको शैक्षिक र नागरिकताको प्रमाणपत्र झुठो र किर्ते भएको आरोप लगाउँदै आएका डा.केसीमाथि केहीदिन अघिदेखि उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि नै प्रश्न चिन्ह उठ्न थालेपछि डा. केसीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कुरा राखेका हुन ।
आफ्नो नागरिकताको प्रमाणपत्रमा जन्ममिति २०१३ साल असोज २७ गते भएको र त्यो नै आधिकारिक जन्ममिति भएको उल्लेख गर्दै प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा भने २०१३ साल माघ २४ गते भएको प्रष्ट पारे । यी दुईप्रमाणपत्रमा उल्लेख भएको फरक जन्ममितिका कारण आफ्नो जागीरमा कुनै समस्या आए आफु जुनसुकै समयमा पनि राजिनानमा दिएर अनुसन्धानको लागि मार्गप्रसस्त गर्न तयार रहेको प्रष्ट पारे ।
‘एसएलसीको चारित्रिक प्रमाणपत्रमा बाहेक अरु सबै प्रमाणपत्रमा मेरो जन्ममिति २०१३ साल असोज २७ गते नै छ, डा.केसीले भने । आफुले बढुवा हुनका लागि र जागीर लम्व्याउने र कुनै लाभ लिने नियत राखेको भए एसएलसीको चारित्रिक प्रमाणपत्रमा उल्लेख भए अनुसार २०१३ साल माघ २४ जन्ममितिको आधारमा नागरिकता र अन्य प्रमाणपत्र मिलाउने थिँए, तर मलाई त्यसो गर्नुछैन’ उनले भने ।
प्रधानन्यायधिश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा धेरै विवाद र त्रुटी रहेको उल्लेख गर्दै डा.केसीले उनका नागरिकता र शैक्षिक प्रमाणपत्रमा छानवीनमात्रै नभई सत्यतथ्य जनसामु ल्याउनुपर्ने माग गरे । ‘पराजुलीको मनशाय गलत भएका कारण उनले जानीजानी आफ्नो उमेर सच्याएका हुन, तर मेरो मनशाय त्यस्तो छैन’ उनले भने ।
पुनरावेदन अदालतका पुर्व अध्यक्ष गौरीवहादुर कार्की आयोगले कारवाहीको सिफारिस गरिएका त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा.तीर्थ खनिया, कानुन संकायका डीन तारा सापकोटा लगायतले आफ्नो शैक्षिक प्रमाणपत्रमा जन्ममिति सच्याएर विभिन्न लाभ लिएजस्तै प्रधानन्यायधिश पराजुलीले पनि त्यसै गर्न खोजेको आरोप लगाउँदै डा.केसीले पराजुलीकै मिलोमतोमा मैले आवश्यक कागजपत्र नबुझाएको भनेर अफवाह फैलाउँदै मुद्धालाई अन्यत्रै मोड्न लागेको पनि डा. केसीले आरोप लगाएका छन् ।







































