काठमाडौं – परीक्षा अगावै इसईईकाे प्रश्नपत्र सार्वजनिक हुने क्रम नरोकिएपछि सरकारले प्रदेश नम्बर २ मा हुन बाँकी सबै परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको जानकारी दिए ।
प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने र २१ गतेसम्मका सबै विषयको तत्काललाई स्थगित गरिएको उनले बताए। बाँकी परीक्षाको तालिका पछि सार्वजनिक गरिने छ। तर यसअघि भइसकेको परीक्षा भने रद्द नहुने बताइएको छ ।
उनले प्रदेश २ परीक्षाअगावै प्रश्नपत्र बाहिर ल्याउनेलाई पत्ता लगाई कारवाही गरिने प्रतिबद्धता समेत जनाएका छन्।
प्रदेश नम्बर २ मा बिहीबार, विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । यस्तै शनिबार हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र समेत सार्वजनिक भएको बताइएको छ ।







































