प्रस्तावित रंगशालाविरुद्ध जनता सडकमा जनता भन्छन्, ‘कुनै पनि हालतमा रंगशाला बनाउन दिँदैनौं’

1025

 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ तेडोल छाप र डाँडापाटीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणविरुद्ध जनता सडकमा उत्रिएका छन् ।
सो क्षेत्रमा सरकारले जग्गा एकीकरण आवास योजनामार्फत् अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने एकतर्फी निर्णय भएको भन्दै सो क्षेत्रका जनता सडकमा उत्रिएका हुन् ।
रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयका सह—सचिव अनप्रसाद न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको र भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झण्डै ३८ हजार रोपनीमा आवास योजना सञ्चालन गरी त्यसबाट बचेको दुईहजार रोपनी क्षेत्रफलमा रंगशाला बनाएको खण्डमा आफूहरुको उठिवास हुने निश्चित भएपछि रंगशाला पीडित जनता सडकमा उत्रिएको पीडितहरुले बताए ।
पीडित जनताहरुले बिहीबार भक्तपुरको भत्केको पाटीदेखि चाँगुनारायण नगरपालिका कार्यालयसम्म जुलुससहित विरोध ¥याली गरेका छन् । उनीहरुले चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रलाई विरोध पत्र पनि बुझाएका छन् ।
उनीहरुले ‘बस्ती उठाउन पाइँदैन– रंगशाला हामीलाई चाहिँदैन’, ‘विकासको नाममा विनास–हुन्छ जनताको उठिबास’, ‘रंगशाला झेल हो– , ‘भूमाफियाको खेल हो’, ‘मनपरी सहन्नौं– चुप हामी रहन्नौं’, ‘बस्दैनौ चुप लागेर– आए जनता जागेर’, ‘जन चाहनाको कदर गरौं–रंगशाला बदर गरौं’, ‘जनताको तागत थाहा होला– जनविरोधी तत्वको हालत के होला ?’, ‘जनता कहिल्यै दब्दैन– हातमा दही जम्दैन’लयागतका नारा लगाई नगरपालिका कार्यालय घेराउ गर्न गएका थिए ।


‘जनताको पक्षमा काम गर्ने कबुल गरी चुनिएका जनप्रनिधिहरुले जनताको गाँस, बास नै नरहने गरी कुनै काम गर्नु जनप्रतिनिधिको धर्मभित्र पर्दैन । सो ठाउँमा रंगशाला बन्ने भएपछि हामी जनताहरु दिनरात आतंकित भइरहेका छौं । यो विषयमा नगर प्रमुख र केही जनप्रतिनीधिहरुबाट अझ पनि स्पष्ट तथ्य बाहिर नआउनु दुःख र विडम्वनाको कुरा हो ।’ विरोध ¥यालीमा सहभागी ताथलीको तेडोलका सोविता भण्डारीले भनिन् ।
उनले सो क्षेत्रमा रंगशाला बने आफ्नो मात्र नभएर आफूजस्ता सयौंको उठिवास हुने जानकारी दिँदै आफ्नो गाँस र बासको लागि पनि आन्दोलनको विकल्प नभएको बताइन् ।
‘डाँडापाटी र तेडोलमा रंगशाला बन्नु हुन्न, यसले हाम्रो उठिवास हुन्छ, त्यहाँ सयौं वर्षदेखि बसोबास गरिरहेका स्थानीय मात्र नभएर विभिन्न जिल्लाबाट यस स्थानमा बसाइँ सरी आई दुई– चार आना जग्गामा घडेरी गरी बसिरहेका पीडितहरुको पनि उठिबास हुन्छ ।’ विरोध ¥यालीमै सहभागी अर्का पीडित रामकृष्ण सुवालले भने । सोही कारण जनताहरु आन्दोलित भएको उनको भनाइ छ । उनले सो क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने कामका विषयमा नगपालिकाले कुनै पनि सल्लाह नगरी जनप्रतिनीधिले नै जनताको मतविपरीतको काम गरेको पनि बताए । ‘सरकारबाट त्यो ठाउँमा रंगशाला निर्माण गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने हाम्रो माग छ, त्यो कुरा मेयरसावलाई सुनाउन विरोध ¥याली गरिएको हो ।’ उनले भने ।
विरोध ¥यालीपछि नगरपालिका कार्यालय परिसरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण पीडित संघर्ष समितिले विरोध सभा पनि गरेका थिए । विरोध सभामार्फत् चाँगुनारायण नगरपालिका नगर प्रमुख मिश्रलाई जनताको मत विपरीतको काम नगर्न खबरदारी गरेका थिए ।
संघर्ष समितिले बुझाएको विरोध पत्र लिँदै मेयर मिश्रले सो विषयमा आपूmलाई राम्रो जानकारी नभएको भन्दै पन्छिन खोजेका थिए । उनले रंगशाला बन्नुपर्ने, कोहीको पनि विस्थापन हुने नहुने जिकिर गरे पनि जनतासमझ भने रंगशाला बन्नुपर्ने कारण खुलाउन सकेका थिएनन् ।
आयोजक समितिका अध्यक्ष रामचन्द्र बासीले जनताको मागलाई बेवास्ता गरी रंगशाला निर्माण कार्य अगाडि बढाएमा अझ सशक्त आन्दोलन गर्ने पनि घोषणा पनि गरिएको उक्त विरोध सभामा समितिका सचिव हरिसुन्दर छुकांले पनि बोलेका थिए ।