फिल्म निर्माता वाग्लेको कोठामा २ करोड ५२ लाख नक्कली नोट

1104

काठमाडौँ: नेपाली चलचित्र उद्योगका चर्चित निर्माता माधव वाग्लेको घरबाट प्रहरीले २ करोड ५२ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुको टोलीले लामो समय फिल्म वितरक र त्यसपछि फिल्म निर्माताकारुपमा कलिउडमा सक्रिय वाग्लेको काठमाडौँको चार ढुंगेस्थित प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठाबाट एक हजार दरका २ करोड ५२ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।

कमल पोखरी बस्ने सुर्खेतका २४ वर्षीय महेन्द्र बोगटीले मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा बिल तिर्दा नक्कली नोट दिएको उजुरी क्याफेका सञ्चालकले गरेपछि थालेको अनुसन्धानका क्रममा नक्कली नोटको गिरोह समात्न सफल भएको हो ।

प्रहरीले सुरुमा उनको साथबाट जेठ १ गते १ लाख २० हजार नेपाली नक्कली नोट बरामद गरेको थियो । उनैको बयानका आधारमा प्रहरीले ललितपुरको लुभु बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङको कोठा खानतलासी गरेर एक हजार दरका ७ लाख ४३ हजार नोट बरामद गरेको थियो ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार पक्राउ परेका उनीहरुको बयानका आधारमा प्रहरीको टोलीले वाग्लेको कोठाका ठुलो परिमाणको नक्कली नोट बरामद गरेको हो । अनुसन्धानका क्रममा यी नोट बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक धादिङका ३६ वर्षीय प्रकाश सुवेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापितलाई छाप्न दिएको पनि खुलेको छ । पोखरेलका अनुसार यी नक्कली नोट विकेशकै प्रेसमा छापिएको पत्ता लागेको छ ।

को हुन् वाग्ले ?

वाग्लेले नेपाली चलचित्र ओरालो लागेका बेला सुपरहिट चलचित्र लुटको निर्माण गरेका थिए । उनले सन् २०१० मा पहिलो फिल्म फस्ट लभ बनाएका थिए । उनको निर्माणमा छड्के, मिसन पैसा रिलोडेड, रेशम फिलिली, लभ शाशा र लुट २ जस्ता फिल्महरू रिलिज भएका छन्।

पपकर्न पिक्चर्सले वितरण गरेका कबड्डी, पशुपती प्रसाद, टलकजङ्ग भर्सेस टुल्के पनि वाग्लेको लगानी थियो । कालो पोथी र ह्वाइट सन जस्ता चलचित्र पनि उनले निर्माण गरेका थिए ।

उनी नेपाल चलचित्र निर्माता संघका सह उपाध्यक्ष र नेपाल चलचित्र संघका सदस्य पनि भइसकेका छन् । २०७२ वैशाखमा गएको भूकम्पपछि उनी राहत अभियानमा पनि होमिएका थिए । वाग्ले पछिल्लो पटक लालपुर्जा फिल्म निर्माणमा लागेका थिए ।