बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिविर डढुवामा

0

बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिविर सहित ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा प्रधान कार्यालय रही नगर स्तरीय कार्यक्षेत्र रहेको बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले आयुर्वेदिक चिकित्सालय जिल्ला कार्यालय सिन्धुपाल्चोक र सामुदायिक स्वास्थ्य केन्द्र डढुवा र गैर टार स्वास्थ्य चौकीका संयुक्त टोलीले शिविरमा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आयोजित   शिविरको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले अशाय, अपाङ्ग, ६०वर्ष माथिका ज्येष्ठ नागरिक एकल महिला, सिमान्तकृतहरुका लागी नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने व्यवस्था गरेको बताउनु भयो ।

नगर प्रमुख नगरप्रमुख सापकोटाले बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले दिवसका अवसरमा स्वास्थ्य शिविर राखेर पुण्य काम गरेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि उपप्रमुख सिता थापाले चौतारा साँगाचोकगढी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागी विशेष कार्यक्रम गरिरहेको बताउनु हुँदै अपाङ्गता भएका व्यक्तिको क्षमता सपाङ्गभन्दा कम नभएको आफूले पाएको बताउनु भयो ।

अवसर पाउँदा अपाङ्गले पनि सपाङ्गको जस्तै काम गर्न सक्ने भएकाले यसका लागी बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।  वडा अध्यक्ष उद्धव नेपालले  अपाङ्गता दिवसमा धेरै जसोलो अन्तरक्रिया गरेर मनाइरहेको सन्दर्भमा बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण गरेर मनाउन लागेकोमा विशेष धन्यवाद दिनुभयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको हक हित र संरक्षणका लागी अग्रणी भूमिका खेलेको भन्दै अम्बर बहादुर घले लगायत स्वास्थ्य शिविरमा सेवा दिने स्वास्थ्य कर्मीहरूलाई  सम्मान गरिएको थियो । चतुर बहादुर तामाङको सभापतित्वमा  भएको कार्यक्रममा नगर अपाङ्ग समन्वय समितिका दीपक अर्याललगायत अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

समाजसेवी भूपेन्द्र थापाका पहलमा नगर भरिका ७८ जना अपाङ्गता भएका व्यक्तिले न्यानो कपडा पाएका थिए । लायन्स क्लब चौताराका अध्यक्ष रबीन गौतम, पूर्व अध्यक्ष भगवान् खड्का, कवीन्द्र दुलाल लगायतका टोलीहरूले न्यानो कपडा वितरण गर्नुभएको थियो ।