बनेपामा अचेतनाको सिकार लिच्छविकालीन मुचलिन्द बुद्ध

19

बनेपामा रहेको अत्यन्तै कलात्मक र ऐतिहासिक लिच्छविकालीन मुचलिन्द बुद्ध आज अचेतनाको सिकार बनेको छ। ज्ञान, करुणा र चेतनाको प्रतीक बुद्धको मूर्ति स्वयं अज्ञान र अविवेकको घेरामा थुनिएको दृश्यले गहिरो पीडा दिन्छ।

मूर्तिको अनुहार नै बिगारिने गरी हस्तक्षेप गरिएको छ। मौलिक स्वरूप नष्ट हुने गरी सिमेन्टको माला बनाइएको छ, जुन न त शिल्पशास्त्रसम्मत छ न त संरक्षणको कुनै मान्य विधि। मूर्तिमा अवस्थित नागका मुखहरू सिमेन्टले बनाइएका छन् र आँखामा गुच्चा टालेर ‘सजावट’ गरिएको छ, जसले लिच्छविकालीन शिल्पकला र सौन्दर्यबोधमाथि गम्भीर आघात पुर्‍याएको छ।

यसैगरी मन्दिर पुनर्निर्माणका नाममा सिमेन्टको व्यापक प्रयोग गरिएको छ। पुरातात्त्विक सम्पदाको संरक्षणमा प्रयोग गर्न नहुने सामग्रीको प्रयोगले सम्पदालाई जोगाउनु होइन, धीरे–धीरे नष्ट गर्नु हो भन्ने सामान्य चेतनासमेत यहाँ हराएको देखिन्छ।

अझ विडम्बनापूर्ण त के छ भने, मूर्तिहरूमा अबिर र रङ दल्ने परम्पराले मूर्तिको सतह नै क्षति पुर्‍याइरहेको छ। श्रद्धा र भक्ति अज्ञानमा बदलिँदा सम्पदा नास हुने यथार्थ बनेपामा छर्लङ्ग देखिएको छ।

लिच्छविकालीन मूर्ति, चैत्य र संरचनाले भरिएको यस ऐतिहासिक बस्तीमा हालसालै ढलान गरिएको बाटो पनि अर्को गम्भीर उदाहरण हो। विकासको नाममा गरिएको यस्तो हस्तक्षेपले सम्पदाको मौलिकता, सन्दर्भ र ऐतिहासिक पहिचान मेटिँदै गएको छ।

सबैभन्दा दुखद पक्ष— यी सबै घटनाक्रम भइरहँदा पनि सबै मौन छन्।
स्थानीय तह, सरोकारवाला निकाय, विज्ञ, सम्पदा प्रेमी—सबैको मौनताले बनेपालाई साँच्चिकै ‘अचेतनाको सहर’ बनाइदिएको छ।

ज्ञान र चेतनाको प्रकाश छर्न आएका बुद्धलाई पनि बाँकी नराख्ने समाजले आफूलाई कति सभ्य भन्न सक्छ? अझै पनि बाँकी रहेका सम्पदामाथि हस्तक्षेप भइरहेकै छ, मास्ने प्रयास रोकिएको छैन।

खोइ, कहिले आउँछ चेतना?
कहिले बुझिन्छ कि सम्पदा पूजा गर्न होइन, संरक्षण गर्न हो?
कहिले थाहा पाइन्छ कि सिमेन्ट, रङ र अविवेक विकास होइन, संस्कृतिक विनाश हो?

बनेपाले अब मौन बस्ने होइन, जाग्ने समय आएको छ।