खजुरा — बाँके जिल्लामा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या घटेको छ। यस वर्ष जिल्लाबाट कुल ९,६१५ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन्, जुन गत वर्षको १०,४१६ जनाको तुलनामा ८०१ जना कम हो।
आगामी चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जिल्लाका आठ पालिकामा रहेका ३६ परीक्षा केन्द्रमार्फत ७,९१३ जना नियमित तथा १,७०२ जना ग्रेडवृद्धि परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिनुभयो।
जिल्लाभरिका २११ विद्यालय (१०५ सामुदायिक र १०६ संस्थागत) का ४,६७५ छात्रा र ४,९४० छात्र गरी कुल ९,६१५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। तीमध्ये १० वटा सामुदायिक विद्यालयका २७० नियमित र ५४ ग्रेडवृद्धि गरी ३२४ जना प्राविधिक धारका विद्यार्थी पनि समावेश छन्।
पालिका अनुसार परीक्षा केन्द्र वितरण हेर्दा नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिकामा चार-चार तथा नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक-एक गरी ३६ केन्द्र तोकिएका छन्। नेपालगन्जस्थित महेन्द्र मावि परीक्षा केन्द्रमा सबैभन्दा बढी ३७५ जना र राप्तीसोनारीको शिवशक्ति माविमा सबैभन्दा कम १६२ जना परीक्षार्थी रहनेछन्।
यस वर्ष ४१ जना विशेष परिस्थितिका विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन्। तीमध्ये दुई बालसुधार गृहका ३३ जना बालबिज्याइँकर्ता र दुई कारागारका आठ जना कैदीबन्दी रहेका छन्। उनीहरूलाई नजिकका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ।
बाँकेमा पछिल्ला तीन वर्ष लगातार वृद्धि हुँदै आएको एसईई परीक्षार्थीको संख्या यस वर्ष भने घटेको हो। २०७९ मा ८,८८६, २०८० मा ९,२९३ र २०८१ मा १०,४१६ जना विद्यार्थीले एसईई दिएका थिए।








































