बागमतीमा ४ मन्त्रीहरुले राजिनामा दिएपछी मुख्यमन्त्री विरुद्व अविश्वासकाे प्रस्ताव दर्ता

13

मकवानपुर । बागमती प्रदेशमा नेपाली काँग्रेसबाट मन्त्री बनेका ४ जनाले राजिनामा दिएका छन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री बहादुर सिं लामालाई संसदीय दलको नेताबाट हटाएर उनलाई मुख्यमन्त्रीबाट समेत पदमुक्त गर्ने गरी नेपाली काँग्रेस भित्र कसरत सुरु भएकाे बुझिएको छ । शुक्रबार नै नेपाली काँग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । संसदीय दलको कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेको एक सांसदले दाबी गरे ।

कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । यसै अनुसार लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

पछिल्लो समय बागमतीको मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसभित्र अन्तरसंघर्ष चलिरहेको छ । बहादुर सिंह लामाको बहिर्गमन पश्चात मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँ अगाडि सरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व परिवर्तन हुने स्पष्ट निर्देशन दिएपछि बानियाँ पक्ष अगाडि बढेको सांसदहरू बताउँछन् ।

देउवाले गत बुधवार मुख्यमन्त्री लामालाई बोलाएर छलफल गरेको थिए । उनले राजीनामा दिएर बानियाँलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको समाचारबाट बाहिरिएपछि केही समय सम्पर्क विहीन भएका लामाले आफूलाई त्यस्तो केही दबाब नआएको प्रतिक्रिया दिएका थिए ।

लामाले मुख्यमन्त्री पद नछोड्ने अडान लिएपछी मन्त्रीहरुले सामूहिक राजिनामा दिएका हुन् । नेतृत्व हस्तान्तरण गर्न नसकिने धारणापछि बानियाँ पक्ष अविश्वासको प्रस्ताव लैजाने मनस्थितिमा पुगेको जनाइएको छ । १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

बागमतीमा अहिले नेपाली काँग्रेसकै नेतृत्वमा सरकार सञ्चालनरत थियो । ११० प्रदेश सभा सदस्यहरुमा नेपाली काँग्रेसबाट ३७ जना सांसदहरु छन्