बागलुङ। जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २१९ पुगेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार सबैभन्दा धेरै सङ्क्रमित बागलुङ नगरपालिकामा र सबैभन्दा कम ताराखोला गाउँपालिकामा रहेका छन्।
तथ्याङ्कअनुसार बागलुङ नगरपालिकामा ६१ जना सङ्क्रमित रहेका छन्। काठेखोला गाउँपालिकामा २३, ताराखोलामा ३, तमानखोलामा ५, निसीखोलामा ५, बडीगाडमा १३, बरेङमा ३, जैमिनी नगरपालिकामा २२ र गलकोट नगरपालिकामा २५ जना सङ्क्रमित रहेका छन्। अन्य स्थानीय तहमा ३८ जना सङ्क्रमित रहेका जनाइएको छ।
जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार कुल सङ्क्रमितमध्ये २१ जना १८ वर्षमुनिका छन्। गत वर्ष २० हजार जनामा गरिएको परीक्षणमा १० जनामा एचआइभी पुष्टि भएको थियो। घिमिरेले एचआइभी पुष्टि हुनेमध्ये अधिकांश भारतमा रोजगारी गरेर फर्किएका व्यक्तिहरू रहेको जानकारी दिनुभयो।
सन् २०३० सम्म एचआइभी पहिचान दर, उपचार दर र सङ्क्रमण नियन्त्रण ९५ प्रतिशत पु¥याउने लक्ष्य भए पनि त्यसका लागि अझै धेरै मेहनत आवश्यक रहेको घिमिरेले बताउनुभयो। हाल नेपालमा एचआइभी पहिचान दर ९३ प्रतिशत, उपचार दर ८६ प्रतिशत र भाइरल नियन्त्रण दर ७७ प्रतिशत रहेको छ।
असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग तथा लागुऔषध सुई साझा प्रयोगबाट एचआइभी सर्ने गर्दछ। एचआइभी सङ्क्रमितमा दीर्घरोग तथा प्राणघातक रोग लागेमा मृत्युको जोखिम बढी हुने गरेको छ। विशेषगरी क्षयरोग र हेपाटाइटिसजस्ता रोग लागेमा मृत्यु दर उच्च हुने घिमिरेले जानकारी दिनुभयो।
धवलागिरि अस्पतालको एआरटी (एण्टी रेट्रोभाइरल थेरापी) केन्द्रबाट निःशुल्क औषधि वितरण हुँदै आएको छ। बुर्तिबाङ अस्पतालबाट पनि सेवा उपलब्ध भइरहेको छ। यद्यपि, कतिपय सङ्क्रमित उपचारको पहुँचमा नआउने वा खुलेर सेवा लिन नचाहने समस्याले चुनौती थपिएको छ।
यसका लागि धवलागिरि पोजेटिभ समूहले समुदायस्तरमै पुगेर औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिरहेको छ। सङ्क्रमण दर घटाउने, नयाँ सङ्क्रमण रोक्ने, मृत्युदर न्यूनीकरण गर्ने तथा सङ्क्रमितमाथि हुने लाञ्छना र भेदभाव अन्त्य गर्ने लक्ष्यसहित जनस्वास्थ्य कार्यालयले खोज, पहिचान, उपचार र रोकथामका कार्यक्रम सञ्चालन गरिरहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रवीण शर्माले बताउनुभयो।










































