भक्तपुर । मेरो बाजे गाई हुनु भयो । टोलको जेठो ब्यक्ती जो आफ्नो जीवन भर गाईको पछि पछि लाग्नु भयो आज आफै गाई भएर नगर परिक्रमा गर्नुभएको छ ।
८० वर्ष सम्म गाईजात्रामा गाईको पछि पछि लाग्नुहुने मेरा बाजे आज आफै गाई हुनु भएको हो । हरेक वर्ष गाई संगै हिड्दा बाजे धिम्मेको तालमा भुछ्या बजाउदै हिड्ने व्यक्ति गाई बनेर उभिदा मन देखि नै रुन मन लाग्यो ।
मेरा बाजे गणेश बाहादुर फोँजू । वर्षले ८० भन्दा माथी तर काम गर्दा ३०—४० वर्ष जस्तो । बाजेले काम देख्दा हामी लक्का जवानले पनि त्यती काम कहिले गर्न सकियन । किसानको छोरो तर डकर्मी सिकर्मी जस्ता विभिन्न काम पनि आफै निरन्तर काममा लागिरहने बाजे अचानक खेतमा काम गर्दै गर्दा छाती दुख्यो भनी बस्नु भएको आज आयर गाई पो हुनु भयो ।
टोलमा सबैभन्दा जेठो मान्छे कुलको प्रमुख भएकोले पनि टोलमा आज पनि उहाँ परलोक सुधार हुनु भएको छैन जस्तै लाग्छ ।
जीवनमा एक चक्की औषधी पनि नखानु भएको बाजे आज कुनै औषधी एवं उपचारले नछुने ठाउँमा पुग्नु भएको छ । जहिले पनि जबान देखिने बाजे आज गाई बनेर शहर डुल्नु भएको देख्दा संसार नै पल्टे जस्तो भएको छ । भक्तपुर देखि काठमाडौं सम्म जाँदा पनि हिडेर नै जान तयार हुने बाजे आज अरुको काँधमा गाई बनेर घुमी रहनु भएको छ
हिजो अरुको मरेको मान्छेको गाई लैजादा कति रमाईलो मान्दै घेन्ताड्ड गिसी खेल्दै जान्थे आज थाहा पाए कि मन नै मान्दैन । आज बाजेको गाईको पछि पछि लागेको हिड्नु र बाजेलाई शहर धुमाउनु पर्ने जिम्मेबारी पुरा गरिएको छ तर बाजे तपाईँ कतै जानु भएको रहेनछ । नाती अनिल फोँजूको अनुभुती







































