बाटोमाथिको रिसोर्टमा खाजा खाँदा युवकको शंकास्पद मृत्यु

652

भक्तपुर : साथीहरुसँगै खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु भएको छ । साथीहरुसँगै चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित बाटो माथिको रिसोर्टमा खाजा खान गएका भक्तपुर नगरपालिका–८, जेंला बस्ने वर्ष ३२ को समिर भन्ने नारायणप्रसाद सैंजुको मंगलबार साँझ शंकास्पद मृत्यु भएको हो ।

मृतकका पत्नी राधिका सैंजुका अनुसार मंगलबार साँझ साँढे चार बजे समिरलाई उनका दुई जना साथीहरुले अचेत अवस्थामा मोटरसाइकलमा राखेर घर र्पुयाएका थिए ।

त्यसपछि तत्कालै उपचारका लागि च्याम्हसिंहस्थित जनस्वास्थ्यमा उपचारका लागि लगिएका समिरलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेको थियो ।

जनस्वास्थ्यका चिकित्सकको निर्णय चित्त नबुझी मध्यपुर अस्पतालमा लगिएका समिरलाई त्यहाँका चिकित्सकले पनि मृत घोषणा गरेका थिए ।

समिरको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले समिरका साथी मध्येका उमेश सैंजुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

स्रोतका अनुसार प्रहरीले मृतकका अर्का साथी बाबुकाजी छवाजुलाई पनि नियन्त्रणमा लिएको छ । प्रक्राउ प्रसाईंले घटनाको अनुसन्धान भइरहेको बताउँदै शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जानकारी दिएका छन् ।

बाटो माथियको रिसोर्ट पहिला रातो भोलेको नामले प्रख्यात रहेको थियो । उक्त रिसोर्टमा अनैतिक क्रियाकलाप हुँदै आएका कारण प्रहरीले पटक पटक छापा समेत मार्दे आएको थियो । जुवा खेलाउने यौन धन्दा गर्ने गरेका कारण उक्त रिर्सोट पटक पटक विवादमा पर्दै आएको छ ।