बालेनको राजीनामापछि कुर्सी हटाइयो भन्ने हल्ला निराधार, महानगरले दियो स्पष्टिकरण

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएसँगै महानगरसँग जोडिएका गतिविधिबारे विभिन्न चर्चा सुरु भएका छन् । यही क्रममा बालेनको राजीनामापछि महानगरपालिकाले सार्वजनिक स्थानबाट कुर्सी हटाउन थालेको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।

सामाजिक सञ्जालमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको आलोचना समेत हुन थालेको भए पनि महानगरपालिकाले उक्त दाबी असत्य भएको स्पष्ट पारेको छ । महानगरको सार्वजनिक निर्माण विभागका अनुसार सार्वजनिक कुर्सी हटाइएको नभई व्यवस्थापन र स्तरोन्नतिको काम भइरहेको हो ।

महानगरपालिकाले सडक किनारा, पार्क तथा नदी करिडोर क्षेत्रमा पैदल यात्रुका लागि राखिएका सार्वजनिक कुर्सीको मर्मत, सम्भार र रंगरोगनको काम थालेको जनाएको छ । साथै यात्रुको चाप बढी हुने स्थानमा कुर्सीको संख्या थप्ने, एउटै स्थानमा एउटै प्रकारका कुर्सी राखी एकरुपता कायम गर्ने तथा प्रयोगमैत्री र आकर्षक बनाउने योजना अघि बढाइएको छ ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार कुर्सी हटाउने कुनै निर्णय गरिएको छैन । उहाँले भन्नुभयो, “पैदल यात्रुको उमेर समूह र शारीरिक अवस्थालाई ध्यानमा राख्दै सहजता बढाउने काम सुरु गरिएको हो । यसअघि राखिएका स्थानबाट कुर्सी हटाइने छैन, आवश्यक परे एकरुपताका लागि साटफेर मात्र हुन सक्छ ।”

यसअन्तर्गत सिंहदरबार–भद्रकाली सडकखण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीको मर्मत सुरु गरिएको छ । सो क्षेत्रमा रहेका दुई प्रकारका कुर्सीमध्ये पुराना बेञ्च मर्मत तथा रंगरोगन गरी यथास्थानमै राखिने विभागले जनाएको छ । यसअघि जथाभावी सारिएका कुर्सीलाई व्यवस्थित गर्ने योजना पनि रहेको राईले जानकारी दिनुभयो ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले संयुक्त रूपमा सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् । आयोजनाले प्राथमिकताका साथ २०८१ असोज महिनामा सहरका विभिन्न स्थानमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो । १.५ मिटर लम्बाइ र आधा मिटर चौडाइका ती कुर्सी सार्वजनिक खरिद प्रक्रियामार्फत प्रतिकुर्सी करसहित १८ हजार ६५५ रुपैयाँमा खरिद गरिएको हो ।

भद्रकालीदेखि सिंहदरबार सडकखण्डको पैदल मार्गमा ११ वटा कुर्सी राखिएको छ भने बागमती र विष्णुमती नदी करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचन लगायत क्षेत्रमा समेत कुर्सी व्यवस्थापन गरिएको छ ।

दोस्रो चरणमा थप ४९ वटा कुर्सी प्राप्त भएका छन्, जुन नापी विभाग, तीनकुने–कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर, बबरमहल, कलपोखरी लगायत स्थानमा राखिनेछन् । ट्याक्टिकल अर्बानिजम अन्तर्गत तेस्रो प्याकेजमा थप १५० वटा कुर्सी आउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ । ती कुर्सी माग र आवश्यकताका आधारमा विभिन्न स्थानमा राखिनेछन्