बुढानिलकण्ठ नगरपालिकामा नगर शिक्षक सम्मेलन सम्पन्न

26

 

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा नगर शिक्षक सम्मेलन विभिन्न शैक्षिक छलफल, सम्मान तथा प्रतिबद्धतासहित सफलतापूर्वक सम्पन्न भएको छ ।

सम्मेलनका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शिक्षा क्षेत्र नगरको दीर्घकालीन विकासको मेरुदण्ड भएको उल्लेख गर्दै सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य, गुणस्तरीय शिक्षा र सुशासन अपरिहार्य रहेको बताए । उनले शिक्षकको भूमिका केवल पाठ्यक्रममा सीमित नरही विद्यार्थीको चरित्र निर्माण र समाज रूपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राख्दै नगरपालिकाले शिक्षा सुधारका लागि आवश्यक नीति, स्रोत र वातावरण तयार गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।

कार्यक्रमका विशेष अतिथि नगर उप–प्रमुख अनिता लामाले शिक्षामा समान पहुँच, शिक्षकको पेशागत मर्यादा र उत्तरदायित्वलाई बलियो बनाउँदै स्थानीय तहबाट शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको बताइन् । उनले शिक्षक सम्मेलनले अनुभव आदान–प्रदान र नीतिगत सुधारका लागि महत्वपूर्ण आधार तयार गरेको उल्लेख गरिन् ।

सम्मेलनमा वरिष्ठ संगीतकार प्रदीप बज्राचार्यको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका शिक्षक तथा विद्यालयहरूलाई सम्मान गरिएको छ ।
सर्वोत्कृष्ट प्रधानाध्यापकको रूपमा हरिराम खत्री, सर्वोत्कृष्ट शिक्षकको रूपमा सरिता न्यौपाने तथा निवृत्त शिक्षक सम्मान प्रदान गरिएको छ । साथै, एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल बालउद्धार माध्यमिक विद्यालय र यमदी माध्यमिक विद्यालयलाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा तयारी समितिको तर्फबाट प्रधानाध्यापक जानुका दाहालले बुँदागत रूपमा प्रतिबद्धता घोषणापत्र वाचन गर्दै सामूहिक हस्ताक्षर गराइएको थियो । सम्मेलनको समग्र संक्षेपण प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता सामाजिक विकास समितिका संयोजक शान्ता डकालले गरेकी थिइन् ।

सम्मेलनमा उपसचिव ललित विक्रम सिंह, सामुदायिक विद्यालय सुधार अभियन्ता अभिषेक घिमिरे, विभिन्न वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालय शिक्षा विधेयकको मस्यौदा प्रस्तुति, अन्तरसंवाद, नगरका शैक्षिक उपलब्धि प्रस्तुति, प्रश्नावली संकलन तथा ‘शिक्षामा सुधार सम्भव छ’ विषयक प्रेरणादायी प्रस्तुति सम्मेलनका प्रमुख आकर्षणका रूपमा रहेका थिए ।