बुढानीलकण्ठ नगरपालिकामा सूचनाको हकसम्बन्धी अभिमुखीकरण सम्पन्न

0

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा सूचनाको हक तथा स्वतः प्रकाशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सूचनाको हकसम्बन्धी ऐनअनुसार प्रत्येक सरकारी निकायले हरेक तीन–तीन महिनामा आफ्ना गतिविधि तथा सूचनाहरू स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न तथा पारदर्शी र उत्तरदायी स्थानीय शासन प्रणाली विकास गर्ने उद्देश्यले नगरपालिकाले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, उप–प्रमुख अनिता लामा, राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेललगायतको उपस्थिति रहेको थियो। साथै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, महाशाखा तथा शाखा प्रमुखहरू र अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत महेशप्रसाद पाठकले गरेका थिए। सो अवसरमा नगर प्रमुख अधिकारीले लोकतन्त्रलाई सुदृढ बनाउन सूचनाको हक अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तहले पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न स्वतः प्रकाशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्राविधिक सत्रमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचनाको हकसम्बन्धी कानुनी प्रावधान, नागरिकका अधिकार तथा कार्यान्वयनका पक्षबारे जानकारी गराएका थिए। त्यस्तै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेलले नेपालमा सूचनाको हकसम्बन्धी व्यवस्था, यसको प्रयोग, चुनौती र अवसरका विषयमा विस्तृत प्रस्तुति दिएकी थिइन्।

कार्यक्रमको समापन नगर प्रवक्ता तथा वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराईले गर्दै अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप प्रेरणा मिलेको विश्वास व्यक्त गरे।