काभ्रे। ढुंखर्कस्थित बेथानचोक गाउँपालिकाले नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय नागरिकलाई क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। एलोपेथिक उपचारभन्दा आयुर्वेदिक उपचार स्वास्थ्य प्रवर्द्धनमा बढी प्रभावकारी हुने विश्वासका साथ यो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
केन्द्रमा पञ्चकर्म तथा पूर्वकर्म सेवाको शुभारम्भ गरिएको छ। यसै साता गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पञ्चकर्म तथा पूर्वकर्म सेवाको उद्घाटन गर्दै आयुर्वेदको विशिष्ट चिकित्सा पद्धति पञ्चकर्मबाट लाभ लिन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो। शरीर शुद्धिकरण गर्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि अब गाउँघरमै उपलब्ध हुने भएकाले सबैलाई सेवा उपयोग गर्न उहाँले अनुरोध गर्नुभयो।
जडीबुटीको प्रयोग, योग र ध्यान मात्र नभई पञ्चकर्ममार्फत शरीर शुद्ध गरी मानिसको समग्र स्वास्थ्य प्रवर्द्धन गर्ने तथा जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याई स्वस्थ समाज निर्माण गर्न आयुर्वेदको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो। स्वस्थ समाज निर्माणको अभियानमा गाउँपालिकाले निरन्तर लगानी गरिरहेको उहाँको भनाइ थियो।
बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीलगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधि तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन पश्चात् उपलब्ध सेवाबारे जिल्ला आयुर्वेद कार्यालयकी वरिष्ठ वैद्य जानुका भट्टराईले जानकारी गराउनुभएको थियो। कार्यक्रममा ढुंखर्क स्वास्थ्य चौकी प्रमुख किरणप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो।






































