काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका मा व्यावसायिक आलु खेती विस्तार हुँदै गएको छ। अनुकूल जलवायु, हरियाली वातावरण र भौगोलिक स्वरूपका कारण यहाँको कृषि सम्भावना उच्च रहेको बताइएको छ। स्थानीयस्तरमा आलु खेतीसँगै कृषि तथा पशुपालनको गतिविधि बढ्दै जाँदा गाउँपालिका क्रमशः कृषिमैत्री क्षेत्रका रूपमा विकसित हुँदै गएको छ।
गाउँपालिकाका अनुसार यहाँ आलु खेती, रुखबिरुवा र हरियाली भू–दृश्यले युरोपेली मुलुक लक्जम्बर्ग को प्राकृतिक स्वरूपसँग मिल्दोजुल्दो अनुभूति गराउने बताइन्छ। कृषकहरूले आलुसहित विभिन्न तरकारी तथा फलफूल उत्पादनलाई विस्तार गर्दै लगेका छन्।
गाउँपालिकाले जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारीमार्फत फलफूल उत्पादन तथा बजारीकरण र भकारो सुधार जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साथै, शीतभण्डार (कोल्ड स्टोर) स्थापना गर्न सके गाउँमा उत्पादन हुने तरकारी तथा कृषि उपजको भण्डारण र बजार व्यवस्थापनमा थप सहज हुने अपेक्षा गरिएको छ। यहाँ उत्पादन भएको कृषि उपजलाई काठमाडौँ बजारसम्म पु¥याउने सम्भावना पनि रहेको बताइएको छ।
गाउँपालिकाले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहुलियत ऋण तथा ब्याज अनुदान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत किसानलाई व्यवसाय सञ्चालनका लागि पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराइँदै आएको छ।
गत आर्थिक वर्ष २०८१/८२ देखि गाउँपालिकाले उद्यमशीलता विकास र व्यावसायिक कृषि प्रवर्द्धनका लागि प्रतिघरधुरी अधिकतम २० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। उक्त ऋण लगानी बिन्दबासिनी सहकारी संस्था मार्फत गर्ने सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी ले बेथानचोकलाई कृषिमा आत्मनिर्भर पालिकाका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। “यहाँका अधिकांश नागरिक कृषिमा आबद्ध भएकाले कृषि प्रवर्द्धन र व्यावसायिक किसान उत्पादन गर्ने उद्देश्यले सहुलियत ऋण तथा ब्याज अनुदान कार्यक्रम लागू गरिएको हो,” उहाँले भन्नुभयो।
उहाँका अनुसार ‘व्यावसायिक कर्जा ब्याज अनुदान सम्बन्धी कार्यविधि २०८०’ अनुसार किसान तथा उद्यमीलाई व्यावसायिक कर्जा उपलब्ध गराउने कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिइनेछ।







































