काभ्रे। बेथानचोक गाउँपालिकाले स्थानीय नागरिकको सशक्तीकरणका लागि बजार प्रवर्द्धन, सीप हस्तान्तरण तथा रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमलाई तीव्रता दिएको छ । विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको गाउँपालिकाले स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्ने र सीप विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
नयाँ उद्यमी सिर्जना तथा पुराना उद्यमीलाई प्रविधि हस्तान्तरणअन्तर्गत गाउँपालिकामा लघु उद्यम विस्तार शाखा स्थापना गरिएको छ । यसका लागि संघ र प्रदेश सरकारबाट समेत केही बजेट प्राप्त भएको छ । गाउँपालिकाको तर्फबाट छुट्टै कोष खडा गरी उद्यमशीलता विकास गर्ने काम भइरहेको जनाइएको छ ।
हाल गाउँपालिकाले ‘कोसेली घर’ गठन गरेको छ, जहाँ अर्गानिक चनाको सातु, पिठो, खुजाबलगायत स्थानीय उत्पादनहरू तयार गरिन्छन् । ती उत्पादनहरू कोसेली घरमार्फत बिक्री–वितरण गरिँदै आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गाउँपालिकामा दुई करोड रुपैयाँ बजेट आएको भए पनि योजनाका लागि एक करोड मात्र खर्च गर्न मिल्ने अवस्था रहेको बताए । उनले बाँकी बजेट विभिन्न प्राविधिक र प्रक्रियागत कारणले खर्च गर्न नसकिएको उल्लेख गर्दै एउटै योजनामा दोहोरो ठेक्का लाग्ने अवस्थाका कारण कतिपय स्थानीय तहमा यस्ता विषयमा विरोध समेत भइरहेको बताए । बेथानचोक गाउँपालिकामा पनि यस्तै समस्या देखिएको उनको भनाइ छ ।
गाउँपालिकाले नियमित कार्यक्रमसँगै अतिरिक्त क्रियाकलापहरू समेत सञ्चालन गर्दै आएको छ । महिला सशक्तीकरण, ज्येष्ठ नागरिकमैत्री कार्यक्रम, महिला तथा बालबालिकाका लागि अभियानलगायत कार्यक्रमले बेथानचोक गाउँपालिकालाई सुशासन र सेवाग्राहीमैत्री बनाउँदै लगेको गाउँपालिकाले जनाएको छ ।








































