भक्तपुर । सूर्यवनायक र चाँगुनारायण नगरपालिकाले ईटा उद्योगमा बालश्रम मुक्त गरेरै छाड्ने प्रतिवद्दता गरेका छन् । बाल विकास समाज ,सेभ द चिल्ड्रेन र भक्तपुर ईटा उद्योग व्यवसायी संघको समन्वयमा भएको बालश्रम मुक्त ईटा उद्योग तथा उद्योगिलाई सम्मान कार्यक्रममा दुवै नगरपालिकाका प्रमुखहरुले आगामी बर्ष भित्रमा ईटा उद्योगहरुमा बालश्रम मुक्त घोषणा गर्ने बताएका हुन् ।
कार्यक्रममा सुर्यविनायक नगरपालिका ४ दधिकोटमा संचालित दक्षिणबाराही इँटा उद्योग, चाँगुनारायण नगरपालिका ८ सुडालमा संचालित सरस्वती माता चिम्नी उद्योग र महामञ्जुश्री इँटा उद्योगीलाई बालश्रम मुक्त ईटा उद्योग गरेबापत सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रदेश नम्वर ३ का प्रदेश सदस्य सशीजंग थापा ,नेपाल इँटा उद्योग व्यवसायी समहासंघका उपाध्यक्ष विश्वराम कवाँ, सेभ द चिल्ड्रेनका कार्यक्रम प्रमुख निलम धनुसे लगायतले बालबालिकालाई बालश्रममा नलगाउँन सरकारले नै उनीहरुको परिवालाई रोजगारीको बैकल्पिक व्यबस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
भक्तपुरमा हाल ६२ वटा ईटा उद्योग संचालनमा रहि आएका छन् । संचालित ईटा उद्योगहरुमा चाँगुनारायण नगरपालिकामा ५० वटा उद्योग रहि आएका छन् भने सुर्यविनायक नगरपालिकामा १२ वटा ईटा उद्योग संचालमा रहेका छन् । बाल विकास समाज लगायत विभिन्न संघ संस्था ईटा ब्यवसायी लगाएत अन्यको सहयोगमा भक्तपुर जिल्ला भरमा दश ईटा उद्योगहरु बालश्रम मुक्त भएका छन् । चाँगुनारायण नगरमा रहेका ५० उद्योग मध्य ७ वटामा हाल सम्म बालश्रम मुक्त उद्योग घोषणा गरि सकिएको छ भने सुर्यविनायक नगरपालिकामा १२ मध्य ३ वटामा बालश्रम मुक्त उद्योग घोषणा भएको छ ।







































