भक्तपुर । भक्तपुर जिल्लाको विभिन्न स्थानमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा १७ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका वडा नं. ८ मा रहेको मालपोत कार्यालय नजिकै पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा प्रहरी टोलीले छापा मारेको थियो । उक्त क्रममा ७ जना लाई नियन्त्रणमा लिइएको छ । घटनास्थलबाट ६ बुक तास र नगद ७३ हजार ७२५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सूर्यविनायक नगरपालिका वडा नं. ५, चुनदेवीस्थित एक पक्की घरमा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले छापा मार्दा १० जना लाई नियन्त्रणमा लिएको छ । उक्त स्थानबाट ३ बुक तास र नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ बरामद गरिएको छ ।
नियन्त्रणमा लिइएका सबै व्यक्तिलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।







































