भक्तपुर — भक्तपुरस्थित सरस्वती विद्यागृहमा अध्ययनरत दुई बालक १० दिनदेखि बेपत्ता भएपछि परिवार र आफन्तजन चिन्तामा परेका छन्।
कलमविनायकस्थित सरस्वती विद्यालय गृहको कक्षा ५ मा अध्ययनरत ओखलढुङ्गा घर भई हाल चाँगुनारायण नगरपालिका–९, इथाचामा बसोबास गर्दै आएका सागर कार्की र सिसम राई गत असार २७ गते बिहान विद्यालय जान भनी निस्किएपछि अहिलेसम्म घर फर्किएका छैनन्।
बालकहरू विद्यालयको पोशाकमा घरबाट निस्किए पनि त्यसयता उनीहरू न आफन्तसँग सम्पर्कमा आएका छन्, न त कतै देखिएका छन्। हराएको १० दिनसम्म पनि कुनै अत्तोपत्तो नलागेपछि अभिभावकहरूले प्रहरीको सहयोग लिएर खोजी कार्य अघि बढाएका छन्। तर हालसम्म कुनै सुराक फेला परेको छैन।
सागर कार्कीका दाजु नातामा पर्ने सुभराज कटुवालका अनुसार, विद्यालय असार १७ गतेबाट खुलेको भए पनि ती बालकहरू असार १९ गतेदेखि मात्रै विद्यालय जान थालेका थिए। उनीहरू असार २७ गते बिहान घरबाट विद्यालयतर्फ निस्किए, तर त्यसपछि न त विद्यालय पुगेका छन्, न त घर फर्किएका।
अभिभावकहरूले विद्यालय प्रशासनले बालकहरू विद्यालय आएका थिए वा थिएनन् भन्ने जानकारी नदिएको र हराएपछि पनि खोजीमा कुनै सक्रियता नदेखाएको भन्दै गम्भीर असन्तोष व्यक्त गरेका छन्। उनीहरूले सञ्चारमाध्यम र आमजनसमक्ष बालकहरूको सकुशल फिर्तीका लागि सहयोग र जानकारीका लागि आग्रह गरेका छन्।
यदि कसैलाई सागर कार्की र सिसम राईको बारेमा जानकारी भएमा निकटतम प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।






































