भक्तपुर :- उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना र भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा सञ्चालन गरिएको एक महिनाको अतिथि सत्कार तालिम कार्यालय प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि कुस्माले प्रदेश सरकार अन्तर्गतको कार्यालयले सीपविहीन नेपाली नागरिकलाई सीप प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यले विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले तालिममा सिकिएको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै, आवश्यकता परे थप तालिमका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो।
सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य तथा “गो लोकल” कार्यक्रमका संयोजक विरेन्द्र जतिले तालिममा सिकिएको सीपलाई व्यवहारमा उतार्दै घर–घरमा फेमिली स्टे अवधारणालाई प्रवर्द्धन गर्ने र पर्यटकहरूलाई रैथाने उद्योग तथा परम्परागत घरबासमार्फत परिचय गराउँदै आय–आर्जनका अवसर सिर्जना गरिरहेको जानकारी दिनुभयो।
भक्तपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष रामसुन्दर भेलेले अतिथि सत्कारको महत्वमाथि प्रकाश पार्नुभयो। प्रशिक्षक रबिता बासुकलाले प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता र मेहनतप्रति खुशी व्यक्त गर्नुभयो।
प्रशिक्षार्थी रमा श्रेष्ठ र विना सुकुभटले तालिमबाट जीवनोपयोगी सीपहरू सिकेको र आत्मविश्वासमा वृद्धि भएको अनुभव सुनाए।
कार्यक्रमका सभापति तथा संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयसँगको सहकार्यमा आयोजित तालिम सफल भएको बताउँदै, आगामी दिनमा यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रशिक्षार्थीलाई उद्योग दर्ता तथा नविकरणसम्बन्धी कुनै समस्या भए संघले सहजीकरण गर्ने आश्वासन दिनुभयो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजा, उद्योग तथा वाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुला, पर्यटन व्यवसायी सुरेन्द्रमान बिजुक्छे र महिला उद्यमी समिति अध्यक्ष कमलश्वरी खर्बुजाले तालिमको औचित्यमाथि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।







































