भक्तपुरमा इन्सास राईफलसहित एक जना पक्राउ

1

भक्तपुर, । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भक्तपुरबाट एक जनालाई हतियारसहित पक्राउ गरेको छ।

जिल्ला गोरखा पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्ने वर्ष ३१ का आयन सेढाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सेढाईको साथबाट A8896 नम्बरको इन्सास राइफल बरामद गरिएको छ। साथै निम्न सामग्रीहरू समेत फेला परेको जनाइएको छः

  • एस.एल.आर. राइफलको राउण्ड – ४ थान
  • प्लास्टिक राउण्ड – १ थान
  • सटगनमा लाग्ने राउण्ड – १ थान
  • खुकुरी – १ थान
  • खुकुरीको दाप – २ थान
  • बन्चरो – १ थान
  • लागूऔषध प्रयोगमा प्रयोग हुने सिरिन्ज – ५ थान

उक्त हतियार तथा सामग्रीहरू लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले कारबाही गरेको हो। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले हतियार सम्बन्धी कसुर, अवैध हातहतियार तथा लागूऔषध सम्बन्धी विषयमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।