Home स्वास्थ्य भक्तपुरमा एचआइभी सङ्क्रमित सरकारी सेवा बाट पनि वञ्चित छन्
भक्तपुर । भक्तपुरमा एचआइभी सङ्क्रमितहरू सरकारी सेवा बाटा वञ्चित हुनु परेको सार्वजनिक भएको छ ।
भक्तपुरमा सुरुवातको आयोजनामा भएको एचआइभी एड्स र क्षति न्युनिकरण तथा कावा कमिटिको सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा एचआइभी सङ्क्रमितहरू सरकारी सेवाबाट पनि वञ्चित हुनु परेको खुल्न आएको हो ।
कार्यक्रममा सरकारी अस्पतालले नै एचआइभी सङ्क्रमितलाई डेलिभरी गराउन्न र रिफर पनि दिन नसक्ने भनी सेवा बाट वञ्चित गरेको खुल्न आएको हो । साथै साधारण अपरेसन सम्म पनि भक्तपुर जिल्ला अस्पतालले एचआइभी सङ्क्रमितलाई नगर्ने भनी फिर्ता पठाउने गरेको खुल्न आएको हो ।
एचआइभी सङ्क्रमितका लागि अलग्गै अस्पताल बनेको छैन, प्रजनन अधिकार उनीहरूको पनि छ यसमा अस्पतालले डेलिभरी गराउन सक्दैनौँ अनि साधारण अपरेसन हरू समेत गर्न सक्दैनौँ भन्नु मानवता विरोधी काम भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भन्नुभयो ।
एचआइभी तथा स्वास्थ्यको क्षेत्रमा काम गर्ने जिल्लाका चार नगरपालिकाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला सङ्घ संस्थाहरू बिच भएको उक्त कार्यक्रममा भावी दिनमा एचआइभी सङ्क्रमितका परिवार तथा उनीहरूलाई कसरी स्थानीय सरकार सँग जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
एचआइभी सङ्क्रमितको पोषण तथा उनीहरूको आर्थिक अवस्था सुधार गर्नु पहिलो प्राथमिकता भए पनि स्थानीय निकायमा आफू खुल्दा आफूहरूलाई समाजबाट बहिस्कार हुन सक्ने डरको अन्तका लागि विभिन्न कार्यक्रमहरुको आवश्यकता भएको सरोकारवालाहरूले बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य , भक्तपुर नगरपालिका थिमी नगरपालिका चाँगुनारायण नगरपालिका तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख लगायत विभिन्न क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको उपस्थिति रहेको थियो ।
भक्तपुरमा हाल १२८ जनाले एचआइभीको औषधी सेवन गर्दै आउनुभएको छ ।
Related