भक्तपुरमा एचआइभी सङ्क्रमित कावा बच्चाहरूको पोषणको जिम्मा स्थानीय निकायले लिनु पर्ने 

75

भक्तपुर । स्थानीय निकायले कावा बालबच्चाहरूको पोषणमा ध्यान दिनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।

भक्तपुरमा सुरुवातको आयोजनामा भएको एचआइभी एड्स र  क्षति न्यूनीकरण तथा कावा कमिटीको सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा कावा बच्चाहरूको पोषणमा स्थानीय निकायले पनि चासो दिनु पर्ने सरोकारवालाहरूले बताएका हुन् ।

कावा बालबालिकाहरूको पोषणका लागि उपलब्ध हुँदै आएको फन्ड सन २०२४ देखि बन्द हुन सक्ने भन्दै यसको व्यवस्थापनमा स्थानीय निकायले चासो दिनु पर्ने एचआइभी एड्स सँग काम गर्ने संस्थाहरूले जानकारी दिए ।

कावा बालबालिकाहरूलाई मासिक एक हजार भत्ता र उनीहरूलाई पोषण उवलव्ध गराउँदै आएको छ ।

स्थानीय निकायले आफ्नो क्षेत्र भित्रका कावा बालबालिकाहरूको शिक्षा स्वास्थ्य तथा पोषणको विषयमा चासो दिनु पर्ने अन्तरक्रियाका सहभागीहरूले बताएका थिए ।

एचआइभी तथा स्वास्थ्यको क्षेत्रमा काम गर्ने जिल्लाका चार नगरपालिकाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला सङ्घ संस्थाहरू बिच भएको उक्त कार्यक्रममा भावी दिनमा एचआइभी सङ्क्रमितका परिवार तथा उनीहरूलाई कसरी स्थानीय सरकार सँग जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

एचआइभी सङ्क्रमितको पोषण तथा उनीहरूको आर्थिक अवस्था सुधार गर्नु पहिलो प्राथमिकता भए पनि स्थानीय निकायमा आफू खुल्दा आफूहरूलाई समाजबाट बहिस्कार हुन सक्ने डरको अन्तका लागि विभिन्न कार्यक्रहरुको आवश्यकता भएको सरोकारवालाहरूले बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य , भक्तपुर नगरपालिका थिमी नगरपालिका चाँगुनारायण नगरपालिका तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख लगायत विभिन्न क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको उपस्थिति रहेको थियो ।

भक्तपुरमा हाल १२८ जनाले एचआइभीको औषधी सेवन गर्दै आउनुभएको छ ।