भक्तपुरमा कांग्रेसको विरोध प्रदर्शन

542

भक्तपुर । सरकार अधिनायकवादी बनेको भन्दै नेपाली कांग्रेस भक्तपुरले मंगलबार यहाँ विरोध प्रदर्शन गरेको छ ।
भक्तपुर नपा १० कमलविनायकस्थित क्षेत्र नं १ को कार्यालयबाट सुरु भएको विरोध प्रदर्शनका सहभागीहरुले सरकारविरोधी विभिन्न नाराहरु लगाएका थिए ।
उनीहरुले महंगी नियन्त्रण गर्न, स्थानीय तहमा विभिन्न शीर्षकमा बढाइएका कर हटाउनसमेत माग गरेका छन् ।
प्रदर्शनका सहभागीहरुले केपी सरकार श्री ३ सरकार जस्तो भएको नारासमेत लगाएका थिए ।
विरोध प्रदर्शन कमलविनायकबाट च्याम्हासिंह, सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, टौमढी हुदै दूधपाटीमा समापन गरिएको थियो । समापनको क्रममा भएको कोणसभामा कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले केपी ओली सरकार ढाल्न आफूहरु आन्दोलित नभएको बताए ।
सरकारको जनविरोधी क्रियाकलाप र अधिनायकवादी चरित्रको विरोधमा लोकतन्त्रको रक्षा गर्न कांग्रेस सदनबाट सडकमा ओर्लिएको उनले स्पष्ट पारे ।
जिल्ला सभापति थापाले कांग्रेस आन्दोलन निरन्तर चल्ने भएकाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तयारी अवस्थामा रहन आह्वान गरे ।
त्यस्तै नेपाली कांग्रेस क्षेत्र नं १ र २ का सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमलीले सरकारले दुईतिहाइको दम्भ देखाएर मुलुकमा अधिनायवाद लाद्न खोजेको आरोप लगाए ।
उनीहरुले लोकतन्त्रविरुद्ध जाने कुनै पनि सरकारको विरोधमा कांग्रेसले जनताको पक्षमा संघर्ष गर्ने बताए ।