काठमाडौंः गरिब निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) लागू गरिएपछि भक्तपुरमा साना, घरेलु र लघु उद्योगी बढेका छन् । भक्तपुर उद्योग विकास शाखाले साना लगानीकर्तालाई गाउँ–गाउँमा तालिम कार्यक्रम सुरु गर्ने र उद्यम गर्न चहानेलाई अनुदान र उपकरण वितरण गर्ने योजनालाई प्रभावकारी रूपमा लागू गरेपछि साना, घरेलु र लघु उद्यमी बढेका हुन् ।
भक्तपुर उद्योग विकास शाखाका सूचना अधिकृत कमल निरौलाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव ०७३/७४ मा लघु, घरेलु र साना उद्योगीको संख्या बढेको बताए ।
“आर्थिक वर्ष ०७२/७३ मा ४ सय ७७ लघु, घरेलु तथा साना उद्योगी रहेकामो सो बढेर गत आवमा ६ सय २१ पुगेको छ ।” शाखाका सूचना अधिकृत निरौलाले भने, “भक्तपुर उद्योग विकास शाखाले दिएको प्रभाकारी तालिमका कारण उद्योगीको संख्या बढेको हो ।” शाखाले सिकाइ, बुनाइ, ब्युटिर्पालर, इलेक्टिसियन विभिन्न कृषिजन्यलगायतका विभिन्न किसिमका तालिम दिने गरेको छ ।
कार्यालयले तालिम लिएका महिलालाई बिनाधितो प्रवाहा गरेका कारण भत्तपुरमा धेरै महिला स्वरोजगार बनेका छन् । तालिम लिएका मानिसले सीपअनुसार व्यवसायमा लगानी गरेमा ८० प्रतिशत अनुदानमा सम्बन्धित व्यवसायका लागि आवश्यक पर्ने मेसिन, औजार दिने गरेको सूचना अधिकृत निरौलाले बताए ।
यसरी नै तालिमपछि बिनाधितो अनुदान तथा ऋण पनि पाउने गरेका छन् । कार्यालयले हाल तालिम तथा तालिमपछिको स्वरोजगार कार्यक्रम गाउँ केन्द्रित गरेका कारण लघु, घरेलु तथा साना उद्योगीको दर्ता संख्यासमेत भक्तपुर जिल्लामा बढेको छ ।
जिल्लामा गरिब बेरोजगार मानिसको पहिचान गरी उनीहरूको आवश्यकता र क्षमताअनुसार तालिमको व्यवस्था गरिएको शाखाले जनाएको छ । हाल गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) लागू गरेको ३ वर्ष भएको छ ।
भक्तपुर उद्योग विकास शाखामा आव ०७२/७३ मा घरेलु ३७ र साना उद्यमी ४ सय ४० गरी ४ सय ७७ ले फर्म दर्ता गरेका थिए । यो अवधिमा उत्पादन क्षेत्रमा १ सय ३५, पर्यटन क्षेत्रमा ५०, सेवा क्षेत्रमा १ सय ५२, निर्माण क्षेत्रमा २८ र कृषि क्षेत्रमा १ सय १२ जनाले लगानी गरेका थिए ।
यसरी नै आव ०७३/७४ मा सो संख्या बढेर लघुमा ६८, घरेलुमा १६ र साना उद्यागी ५ सय ३७ गरी ६२१ पुगेका छन् । यो अवधिमा उत्पादनमूलक क्षेत्रमा १ सय ५८, प्रर्यटन क्षेत्रमा ७२, सेवा क्षेत्रमा २२०, निर्माण क्षेत्रमा ४७ र कृषि क्षेत्रमा १ सय २४ जनाले लगानी गर्न फर्म दर्ता गराएका थिए ।
शाखाले सीप सिकेका महिलालाई पहिलो प्राथमिकता दिएर फर्म दर्तामा शुल्क नलाग्ने र आयकर ५ वर्षसम्म छुट दिने व्यवस्था गरेको छ । शाखाले दिने कार्यक्रम निःशुल्क गरिएका कारण बेरोजगार महिलाको आकर्षण बढ्दै गइरहेको छ ।
Related