भक्तपुरमा जारी बुद्धिचालमा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा

380

भक्तपुर ।
भक्तपुरमा मंगलबारदेखि सुरु भएको राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगितामा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा रहेका छन् ।
नेपाल क्रान्तिकारी युवा संघको २८ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न चार चरणमा चारचार अंककै साथमा लामा र नेपाली अगाडि रहेका हुन् ।

उनीहरुसँगै मकवानपुरका कृष्ण थापाले पनि समान चार अंक बटुलेर लामा र नेपाली सँगसँगै अघि बढिरहेका छन् ।
पूर्व नेपाल च्याम्पियन लामाले चौथो चरणमा राजन सुवेदीलाई माथ खुवाउँदै महत्वपूर्ण एक अंक बटुले । त्यस्तै पूर्वनेपाल च्याम्पियन नेपालीले चौथो चरणमा अर्का पूर्वनेपाल च्याम्पियन नवीन तुलाधरलाई माथ खुवाएका थिए ।
कृष्ण थापाले भने कमल श्रेष्ठलाई हराएर महत्वपूर्ण एक अंक लिए ।
स्वीस लिगअनुसार नौ चरणमा हुने प्रतियोगितामा चौथो चरणसम्म पूर्वनेपाल च्याम्पियन मनिष हमाल, राजेन्द्र बज्राचार्य र राजेन्द्र सिजख्वको समान ३.५ अंक रहेका छन् ।
नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले भने चार चरणभित्र तीन अंकमात्रै जोडेका छन् । उनी चौथो चरणमा सुश्रुत दाहालसँग बराबरीमा रोकिएका थिए ।


त्यस्तै भेट्रान खेलाडी एवं भक्तपुर च्याम्पियन गणेशमान दुवालको पनि तीन अंक भएको छ । दोस्रो चरणमा पराजित उनले चौथो चरणमा खोमप्रसाद तिमिल्सिनालाई माथ खुवाएर महत्वपूर्ण एक अंक लिएका थिए ।
प्रतियोगिताका च्याम्पियनसँगै उत्कृष्ट १७ जना खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजक नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटाले प्रतियोगिताको च्याम्पियनले १५ हजार नगद पुरस्कार पाउँदा दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ६ हजार, चौथो हुनेले चार हजार र पाँचौं हुनेले दुई हजार रुपैयाँ नगद पुरस्कार पाउने बताए ।
छैटौंदेखि दसौं स्थानमा रहनेले जनही एकएक हजार, भक्तपुर जिल्ला टप हुनेले थप दुई हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै अनरेटेडतर्फको उत्कृष्ट, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट महिला र बेस्ट इलोतर्फ १५०० मुनि र १८०० मुनिका उत्कृष्टले पनि एकएक हजार नगद पुरस्कार हात पार्ने प्रतियोगिताका संयोजक राजकुमार लघूले जानकारी दिए ।
प्रतियोगितामा १३ जिल्लाका ८८ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका आर्विटर निरञ्जन प्रजापतिले जानकारी दिए । उनका अनुसार कूल सहभागीमध्ये रेटेडतर्फ ५१ जना र अनरेटेडतर्फ ३७ जना रहेका छन् ।
त्यस्तै भेट्रान्सतर्फ , जुनियरतर्फ १२ जना सहभागी हुँदा रेटेड १०० मुनि २१ र १५०० मुनि ८ जना सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत बुधबार बाँकी पाँच चरणको खेलसँगै पुरस्कार वितरणसमेत हुने प्रचारप्रसार समिति संयोजक रामशरण त्वातीले जानकारी दिए ।