भक्तपुरमा निर्वाचन आचार संहिताको ठाडो उलंघन

919

भक्तपुर । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि भक्तपुरका पुरै नगरपालिका शहर चुनाव प्रचार सामग्रीले बेहुलीझैँ सिंगारिएका छन् ।
निर्वाचन आचारसंहिता विपरीत दलहरुले उम्मेदवारको तस्वीर अंकित पोस्टर तथा ब्यानर, दलको झण्डा, चुनाव चिह्न अंकित झण्डा, ब्यानर एवं तुल र तोरण बनाएर नगरका विभिन्न स्थान तथा शहरको गल्ली, सम्पदा क्षेत्र र बस्तीमा टाँगिदा बेहुलीझँै सिंगारिएको छ ।
निर्वाचन आयोगले यस प्रकारले चुनाव प्रचार सामग्री राख्न नपाइने गरी आचारसंहिता जारी गरे पनि यसको अवज्ञा गर्दै दलहरुले भक्तपुरमा भने सम्पदा नै छोपिने गरि उलंघन गरिएको पाईन्छ ।
मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधि एवं उम्मेदवारलाई २४ घण्टाभित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामाग्रीमा हटाउन निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “दलका प्रतिनिधि एवं उम्मेदवारलाई २४ घण्टाभित्र आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री हटाउन निर्देशन दिएका छाँै, उहाँहरुले हटाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ, उहाँहरुले नहटाए मंगलबारदेखि सुरक्षाकर्मीले हटाउने छ ।”
आचारसंहिता विपरीत कार्य गर्ने उम्मेदवारको खोज गरेर त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुको सहयोगको आवश्यकता रहेकाले आचारसंहिता विपरीत कार्य नगर्न आग्रह गर्नुभयो ।
उहाँले पनि दलहरुलाई आचार सँहिता विपरित राखिएका तोरण झण्डा हटाउन पहिला पहल गर्ने नमानेको खण्डमा प्रसासनले नै हटाउने वताउनुभयो ।
भक्तपुर नगर विश्व सम्पदा सुचिमा सुचिकृत स्थल देखि पर्यटकिय स्थहरुमा राखिएका झण्डा एवं तोरणका कारण पर्यटकहरुमा असुविधा भएको भक्तपुर पर्यटन बोर्डले जनाएको छ । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको प्रभाव रहेका कारण पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफ्नो दवदवा देखाउन रातारात नगरलाई बेहुली झै सिगारेर को छ ।
निर्वाचन आचार संहिताको उल्लंगनको कुरा उठेपछि र निर्वाचन अधिकृतले हटाउन निर्देशन गरेपछि नेमकिपाले भने आफुले राखेको झण्डा तुल ब्यानरहरु हटाउन थालेको छ भने अन्य दलहरुले भने हटाउन आनाकानी गरि रहेको देखिन्छ ।