भक्तपुरमा वालुवा चोरीमा तिव्रता बढयो

600

भक्तपुर : चाँगुनारायण नगरपालिका अन्तर्गत रहेका साविक दुवाकोट, चाँगुनारायण र झौखेल गाविसबाट अवैध रूपमा बालुवा उत्खनन् र बिक्री अझै रोकिएको छैन। सञ्चारमाध्यममा समाचार आएपछि केही दिनलाई रोकिएको बालुवा चोरीले निर्वाचनलगत्तै पुनः निरन्तरता पाएको हो। बालुवा चोरीमा संलग्न अहिले पनि भक्तपुर र काठमाडौं जिल्लाको सीमाना भएर बग्ने मनहरा खोलाबाट पहिले सञ्चालनमा रहेका खानीबाट बालुवा चोरी गरी बिक्री गर्दै आएका छन्।

इँटाभट्टलाई माटो ओसार्ने वहानामा बालुवा उत्खनन गरेर बिक्री गर्ने क्रम तीव्र बनेको छ। दुवाकोट, चाँगुनारायण र झौखेल गाविसका धेरै माटोका ससाना डाँडा भासेर माटोसँगै बालुवाको अवैध बिक्रीवितरण हुँदा पनि नगरपालिका र प्रहरीप्रशासन मौन छन्। माटो ओसार्ने गाडीले नै त्रिपालले छोपेर बालुवा ओसारिरहेका छन्। त्यसैले नगरपालिका, प्रहरी प्रशासनसँगको मिलेमतोमा अवैध रूपमा बालुवा चोरी भइरहेको स्थानीयको आरोप छ। जति भने पनि सुनुवाइ हुन छोडेपछि स्थानीयले पनि बालुवा चोरीबारे प्रहरी प्रशासनमा उजुरी गर्न छाडिसकेका छन्।

‘कति उजुरी गर्नु, प्रहरी कहिल्यै आउने होइन’, एक स्थानीयले भने, ‘उजुरी गर्दागर्दा थाकेर मैले त हात नै उठाइसकेँ।’ उनले नगरपालिकाकै सेटिङमा चोरीको बालुवा धमाधम बिक्री भइरहेको आरोप लगाए।

इँटाभट्टलाई माटो ओसार्ने वहानामा बालुवा उत्खनन गरेर बिक्री गर्ने क्रम तीव्र बनेको छ।

‘नभए नगरपालिकाले बालुवा थुपारेर राखेको नाउँमा बालुवा बेच्ने रसिद किन उपलब्ध गरायो’, उनको प्रश्नछ, ‘त्यही रसिदको आडमा बालुवा चोरी मौलाएको हो।’ स्थानीयबाट आएको उजुरीका आधारमा अवैध बालुवा बोकेका गाडी समाउँदा अधिकांशसँग नगरपालिकाले उपलब्ध गराएको रसिद फेला पर्ने गरेको प्रहरीले जानकारी दिएको छ। नगरपालिकाले उपलब्ध गराएको रसिद हुँदाहुँदै आफूहरूले अवैध भन्न नमिल्ने प्रहरीको भनाइ छ।

प्रहरी प्रशासनलाई रोक्न भनेका छौं : मेयर

चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मि श्रले थुपारेर राखेको बालुवा बिक्री गर्न दिइएको रसिद सबै नपाले फिर्ता लिएको बताएका छन्। उनले चाँगुनारायण नगरपालिका क्षेत्रबाट बालुवा चोरी हुनै नदिने र निकासी गरेको पाइए कडा कारबाही गर्ने नगर कार्यपालिकाले निर्णयसमेत गरेको जानकारी दिए। निर्णय कार्यान्वयन गर्न नपाले जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुरलाई लिखित अनुरोधसँगै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग यस विषयमा बैठक नै गरेको नगर प्रमुख मिश्रले जानकारी दिए।

हामीलाई अधिकार छैन : प्रजिअ

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल अवैध रूपमा बालुवा उत्खनन् चोरी नियन्त्रण गर्ने जिम्मेवारी नगरपालिकाको भएको बताउँछन्। नगरपालिकाले केही नगर्ने तर प्रहरी प्रशासनलाई चोरी रोक भनेरमात्रै रोक्न नसकिने उनको भनाइ छ। ‘नपाको स्थानीय जनतासम्म पहुँच छ, प्रत्येक वडामा पाँचपाँच जनप्रतिनिधि छन्, तिनीहरूले बालुवा चोरी भएको नदेखेका होलान् र’, प्रजिअ पोखरेल भन्छन्, ‘अधिकार पाएको नपा र त्यसका जनप्रतिनिधिले आफ्नो आँखा अगाडि भइरहेको चोरी त रोक्नुपर्छ नि।’

नपाकै सेटिङमा अवैध बालुवा चोरी चइरहेको तर आरोप भने प्रहरी प्रशासनमा थुपार्ने गरेको उनको भनाइ छ। ‘माटो खानीजन्य होइन भनेर ओसार्न दिने नगरपालिकाले बालुवा ओसारप्रसार गर्न रसिदसमेत दियो’, प्रजिअ पोखरेलले थपे, ‘अनि प्रहरी प्रशासनको मिलेमतोमा बालुवा चोरी भयो भन्यो, नपालाई हाइसञ्चो। ‘

‘समाधान खानी खुला’

अवैध रूपमा बालुवा चोरी रोक्ने सजिलो उपाय भएका खानी खोल्नु रहेको सरोकारवालाको भनाइ छ। भूकम्पपछिको पुनर्निर्माण गर्न बालुवाको माग अत्यधिक छ। माग पूर्ति गर्ने माध्यम नै बालुवा चोरी बिक्री हो। बालुवा चोरी गर्ने भनेको खोलानाला र भएका पुराना खानी हुन्। पछिल्लो समय आएर इँट्टाका लागि माटो निकालिएका ससाना थुम्का बालुवाका राम्रा स्रोत बनेका छन्। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल जफत गरी लगेको भन्दै साविक जिल्ला विकास समिति र हाल नगरपालिकाले खानी सञ्चालन गर्ने हिम्मत देखाउन सकेका छैनन्। आयोगले भूकम्पलगत्तै भक्तपुरमा सञ्चालित सम्पूर्ण बालुवा, माटो तथा ढुंगा खानीका फाइल उठाएर लगेको थियो। तर, आयोगले अहिलेसम्म फाइल फिर्ता पठाएको छैन। यसले गर्दा भएका खानी पनि वैधानिक रूपमा खुल्न सकेका छैनन्।