भक्तपुर: शीर्षक पढ्दै अचम्म लाग्न सक्छ । भौतिक सम्पदाको पनि स्वास्थ्य जाँच हुन्छ? प्रश्न उब्जिन सक्छ। भौतिक संरचनाको पनि स्वास्थ्य जाँच हुने प्रविधिको विकास भएको छ । विदेशमा पहिल्यै प्रयोगमा आइसकेको यो प्रविधि नेपालमा भर्खर भित्रिएको हो।
नेपालको जापानस्थित एमआई विश्वविद्यालयले उक्त प्रविधि भित्र्याएको हो। २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पले विशेषतः काठमाडौं उपत्यकाका सम्पदालाई ध्वस्त बनायो । कति सम्पदा नाश भए, कति भग्नावशेषमा परिणत भए। केहीमा भने भूकम्पले क्षति नपुर्याएको देखियो।
आँखाले हेर्दा भूकम्पले क्षति नपुगेका सम्पदा भित्रभित्रै कमजोर र कुनै पनि बेला भत्कनसक्ने अवस्थामा पो पुगेको छ कि भन्ने अध्ययन गर्नु नै सम्पदाको स्वास्थ्य जाँच गर्नु हो । सम्पदाको शक्ति, निरन्तर हल्लाई र कम्पन थेग्न सक्ने क्षमताको जाँच गरिनु नै सम्पदाको स्वास्थ्य जाँच भएको पुरातत्व विभाग अन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका प्रमुख इञ्जिनियर मोहनकृष्ण श्रेष्ठ बताउँछन्।
भूकम्पले क्षति नभएका सम्पदाको भूकम्पपछिको भौतिक अवस्था, शक्ति, क्षमता पत्ता लगाएर त्यसको संरक्षण, मर्मतसम्भार, पुनर्निर्माण गर्नुपर्ने वा नपर्ने थाहा पाउन सम्पदाहरुको स्वास्थ्य जाँच गरिएको उनले जानकारी दिए।
‘सम्पदाका ठाउँ-ठाउँमा माइक्रोमिटर जडान गरेर त्यसको स्वास्थ्य जाँच गरिन्छ। यसलाई स्ट्रक्चरल हेल्थ मनिटरिङ टेस्ट भनिन्छ’, प्रमुख इञ्जिनियर श्रेष्ठ भन्छन्, ‘ हालसम्म भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचिकृत चाँगुनारायण, पाँचतले मन्दिर र यक्षेश्वर महादेव मन्दिरमा यो जाँच गरेका थियौं । पाँचतले मन्दिरमा जाँच एकवर्षसम्म चल्छ।’
चाँगुनारायण मन्दिर जीर्णोद्धारपछि मन्दिरको स्वास्थ्य ठीक देखिएको उनको भनाइ छ।
उक्त जाँचले भक्तपुर दरबार क्षेत्रस्थित यक्षेश्वर महादेव मन्दिरको अवस्था पनि राम्रै देखाएको उनले जानकारी दिए। भूकम्पले उक्त मन्दिरमा क्षति पुर्याएको थिएन । तर मन्दिरभित्रका गारोमा चिराचिरा देखिन थालेको प्रमुख इञ्जिनियर श्रेष्ठ बताउँछन्।
टौमढीस्थित पाँचतले मन्दिरमा भने एक वर्ष लगाएर स्वास्थ्य जाँच गरिने भएको छ। भूकम्पले मन्दिरको सबैभन्दा माथिल्लो तलामा केही क्षति पुर्याएको थियो । उक्त मन्दिरको स्वास्थ्य जाँच गर्न विभिन्न ठाउँमा माइक्रोमिटर जडान गरिएको छ । माइक्रोमिटरले मन्दिरको वर्षभरिको फ्रिक्वेन्सी रेकर्ड राख्ने प्रमुख इञ्जिनियर श्रेष्ठले जानकारी दिए।
‘सम्पदा हरेक पटक आफ्नै चालमा हल्लिरहेको हुन्छ। त्यस्तै अन्य कारणले त्यसमा कम्पन भइरहेको हुन्छ’, उनले भने, ‘उक्त हल्लाई एकै प्रकारले छ कि फरक फरक किसिमको छ, बाहिरी शक्तिले दिने कम्पनले त्यस हल्लाईमा केही फरक परेको छ कि छैन सबै ती माइक्रोमिटरले रेकर्ड गर्छ।’ उक्त रेकर्डको आधारमा सम्पदाको अवस्था ठीक छ छैन, यथार्थ जानकारी हुने उनको भनाइ छ।
उनका अनुसार सम्पदाको वास्तविक अवस्थाबारे यथार्थ जानकारी मिलेपछि भूकम्पमा नढलेका सम्पदाको बेलैमा संरक्षण गर्न सकिने र त्यसबाट थप क्षति हुनबाट बच्न सकिन्छ।
सम्पदा स्वास्थ्य जाँचको लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङ समेतको सहभागिता रहेको छ।







































