भक्तपुर क्षेत्र नम्वर २(२) को प्रथम ऐतिहासिक सम्मेलन तयारी सम्पन्न 

19

सन्जिब दुलाल

भक्तपुर । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर  २(२) को प्रथम ऐतिहासिक प्रदेश सम्मेलनको तयारी सम्पन्न भएको नेपाली काँग्रेसले जानकारी दिएको छ । साउन २७ गते बिहान बाजागाजाका साथ हुने प्रथम प्रदेश सम्मेलनको तयारी सम्पन्न भएको नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर २(२) प्रदेश समितिले जानकारी दिएको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र र काँग्रेसको विधान अनुसार भक्तपुरमा पहिलो पटक प्रदेश सभा क्षेत्र अन्तर्गत भक्तपुर क्षेत्र नं। २ को प्रदेशसभा ‘२’को सम्मेलन हुन लागेको हो ।

सम्मेलनको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गर्नुहुनेछ । सम्मेलनमा पार्टी सहमहामन्त्री जीवन परियार, पार्टी बागमती प्रदेशका सभापति इन्द्र बानिया, जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, पार्टी केन्द्रीय सदस्यहरू अतिथिको रूपमा रहनेछन् ।

बन्द सत्रमा सहमहामन्त्री जीवन परियारले ‘वर्तमान परिस्थिति र नेपाली काँग्रेस’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेता कार्यकर्ताहरूलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम भएको पत्रकार सम्मेलन गर्दै प्रदेश सभापति ओम प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बन्द सत्रमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं। २ को प्रदेशसभा २ का सभापति ओम प्रकाश श्रेष्ठले राजनीतिक प्रतिवेदन, सचिव बालकृष्ण श्रेष्ठले सांगठानिक प्रतिवेदन, सचिव प्रेम कुटुले आगामी वर्षको कार्य योजना, कोषाध्यक्ष बिनु केसीले आर्थिक प्रतिवेदन पेस गर्नुहुनेछ  ।

 

मध्यपुर थिमि नगर सभापति हरिदास प्रजापतिले सम्मेलनले नेपाली काँग्रेसलाई मध्यपुर थिमिमा थप गतिशील बनाई सङ्गठन बिस्तारमा सहयोग पुग्नुका साथै पार्टी सङ्गठन बिस्तारमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका लागि कान्छा श्रेष्ठको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरिएको छ । त्यसै गरी निराकार श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, सचिव प्रेम कुटुको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कोषाध्यक्ष बिनु केसीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको तयारी समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनको बन्द सत्रमा भक्तपुर क्षेत्र नं। २ को प्रदेशसभा २ अन्तर्गत मध्यपुर थिमि नगरपालिकाको ९ वटै वडाका क्षेत्रीय प्रतिनिधि, वडा समितिका पदाधिकारी, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य, महासमिति एवम् महाधिवेशन प्रतिनिधिहरू, जिल्ला, क्षेत्र र नगरका पदाधिकारीहरू, पर्यवेक्षकहरू र पार्टीका शुभचिन्तकहरू समेत गरी करिब ५ सय जनाको सहभागिता रहने नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा ‘२’ का सभापति ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो  ।