भक्तपुर — भक्तपुर जिल्ला अब पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले आज सूर्यविनायकमा आयोजित औपचारिक कार्यक्रममा भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता हासिल गरेको घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरे।
कार्यक्रम खोप जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न भयो। यसअघि भक्तपुरका सबै चारवटा स्थानीय तह—सूर्यविनायक, चाँगुनारायण, मध्यपुरथिमी र भक्तपुर नगरपालिका—लाई नै पूर्ण खोप सुनिश्चित घोषित गरिएको थियो। अब जिल्ला तहमै यो उपलब्धि पुगेको हो।
मन्त्री थापाले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अझ प्रभावकारी बनाउन अब नसर्ने रोगहरूको पहिचानको लागि स्वयंसेविकासहित स्वास्थ्यकर्मीको टोली घरदैलोमै पठाउने बताए।
उनले भने, “मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन सकेन। त्यसैले अब घरमै स्वास्थ्य परीक्षण गर्ने प्रणाली ल्याइनेछ। यसका लागि स्वयंसेविकालाई पारिश्रमिकसहित मासिक रु १,००० सञ्चार खर्चको व्यवस्था गरिएको छ।”
स्वास्थ्य मन्त्री थापाले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई २४ सै घण्टा सेवा दिने टेलिमेडिसिन हब बनाउने तयारी भइरहेको जानकारी दिए। साथै, प्रदेशस्तरीय अस्पतालहरूमा जनशक्ति थप, उपकरण वितरण, र भवन स्तरोन्नतिका काम अघि बढिरहेको बताए।
कार्यक्रममा मन्त्री थापाले अब योग सिकाउने प्रशिक्षकले प्रदेश सरकारद्वारा मान्यता प्राप्त तालिम लिएपछि मात्र गुरु बन्न पाउने व्यवस्था गरिएको जानकारी समेत दिए। उनले खानेपानी, वन, कृषि लगायतका मन्त्रालयका कार्यक्रमहरूमा पनि स्वास्थ्यको एकीकृत समावेश गरिने उल्लेख गरे।
प्रदेश सरकारले एमडी र एमबिबिएस पढाइ सुरु गरिसकेको जानकारी दिंदै मन्त्री थापाले भक्तपुर अस्पतालको स्तरोन्नति र अधुरा स्वास्थ्य भवनहरूलाई पूर्णता दिन बजेट सुनिश्चित गरिएको बताए।
खोपको प्रभाव: बाल मृत्युदरमा ८०% कमी
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले खोप कार्यक्रमले विगत केही वर्षमा ८० प्रतिशत बाल मृत्युदर घटाएको तथ्य प्रस्तुत गर्दै, यो सुनिश्चिततालाई दिगोपनाका साथ कायम राख्न चुनौतीपूर्ण रहेको बताइन्। उनले कोही पनि खोपबाट छुट्न नहुने कुरामा जोड दिइन्।
घोषणा कार्यक्रममा चारै नगरपालिकाका प्रतिनिधि, खोप सुनिश्चिततामा योगदान पुर्याउने निकायहरू, र महिला स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो। स्वास्थ्य मन्त्री थापाले स्वयंसेविकाको योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गरे।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरू सुरेश श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, सकुन्तला श्रेष्ठ र धनेश्वरी प्रजापति, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, खोप महाशाखा प्रमुख डा. अभियान गौतम, र अन्य वक्ताहरूले आगामी दिनमा पनि खोप अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काले भनिन्, “घरघरमा गएर काम गरेका छौँ। भक्तपुरमा अब कोही पनि बालबालिका खोपबाट वञ्चित छैनन्। यो सफलताको निरन्तरताका लागि हामी प्रतिबद्ध छौँ।”